२३ कात्तिक, कालिकोट । सदरमुकाम मान्म बजार बिहानैदेखि सिंगारिंदैछ । चोक–चोकमा सत्तारुढ गठबन्धन दलका झण्डा फहराइरहेका छन् । अन्य दिनभन्दा मंगलबार बजार क्षेत्रमा मान्छेहरूको चहलपहल बढेको छ ।
मान्म बजारका साँघुरा गल्लीहरूमा एउटा गाडी माइकिङ्ग गर्दै गुडिरहेको थियो । माइकिङ्गमा सुनिन्थ्यो, ‘गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री, जननायक, माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भएकाले खुलामञ्चमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं !’
विस्तारै प्रत्येक पालिकाबाट तीन/तीन वटाका दरले गाडीमा मान्छेहरू मान्म बजार क्षेत्रमा प्रवेश गर्न थाले । ती गाडीहरूमा ‘रूख’ र ‘हँसिया हथौडा’ चिह्न अंकित झण्डा राखेर मानिसहरू सदरमुकाम भित्रिरहेका थिए ।
दिउँसो १ बजेका लागि निर्धारण गरिएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बेलुकी ४:३० बजे आइपुगे । प्रचण्डको साथमा थिए, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरू ।
सत्तारुढ गठबन्धनको त्यो चुनावी सभामा प्रचण्डले आश्वासन बाँडिरहेका छन् । उम्मेदवारहरू आफ्ना चुनावी एजेन्डा सुनाइरहेका छन् । भाषण सुन्न आउनेहरू आइरहेका छन्, उठेर हिंड्ने हिंडिरहेका छन् ।
नवरती पाण्डे (७०) का लागि भीडभाड एउटा अवसर हो । उनलाई नेताको भाषणमा कुनै चासो छैन । डोकोमा ल्याएको सुन्तला बेच्न व्यस्त छिन् उनी । उनको छेउमा बदाम बेचिरहेकी कृष्णकला शाही (४८) ले नेताहरूको भाषण सुनेर मुसुक्क मुस्कुराउँदै भनिन्, ‘यिनले कति ढाँट्न सक्या हुन् ! चुनावका बेला सप्पै ल्याउँछन्— बाटो, बत्ती, विकास । चुनाव जित्यासी यी देखामुखा पड्नैनन् ।’
खाँडाचक्र नगरपालिका–१, मान्म प्रदेश सभा (क) मा पर्छ । यो जिल्लामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ । यतिबेला नेताहरू ठूलाठूला आश्वासन बाँड्दै चुनावी सभा र घरदैलो गरिरहेका छन्, तर मतदाता भने व्यापार–व्यवसाय गर्ने, गाजो (गाईवस्तुलाई हाल्ने घाँस) काट्ने, अन्नबाली थन्क्याउनमै व्यस्त छन् ।
‘नेताका कुरा सुनेर के गर्ने हो र ! बरु एक डोको सुन्तला बेच्यो भने केही आम्दानी होला’ नवरतीले भनिन्, ‘अहिलेसम्म ६ पटक भोट दिएँ बाबु, माओवादी, कांग्रेस, एमाले सबैलाई दिएकी छु । यो नेता नयाँ छ, यो पढे–लेखेको छ, यसले त केही गर्ला भन्यो तर सबै उस्तै । अब त भरोशा नै छैन ।’
२०६४ सालमा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएसँगै यो क्षेत्रमा उसले जित्दै आएको छ । २०६४ मा खड्गबहादुर विश्वकर्मा, २०७० मा महेन्द्रबहादुर शाही र २०७४ मा दुर्गाबहादुर रावतले प्रतिनिधि सभामा जिते । प्रदेश सभा (क) मा वाम गठबन्धनबाट एमालेका कुर्मराज शाही विजयी भएका थिए । प्रदेश (ख) बाट महेन्द्रबहादुर शाही विजयी बने ।
४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि एमालेबाट नगेन्द्र शाही (नेशनल) उम्मेदवार बनेका छन् भने सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नै उम्मेदवार छन् ।
२०७४ मा प्रदेश सभामा यो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका महेन्द्र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बने । कुर्मराज पनि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भए । कालिकोटले मुख्यमन्त्री र मन्त्री पाउँदा पनि यहाँ केही हुन नसकेको स्थानीयको गुनासो छ ।
अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा महेन्द्र शाहीलाई पुनः विजयी गराए संघको मन्त्री बनाउने आश्वासन दिए । प्रचण्ड त्यतिमा रोकिएनन्, अब प्रदेश र केन्द्रमा गठबन्धनको सरकार बन्ने र त्यो सरकारले कर्णालीलाई प्रमुख प्राथमिकता दिने आश्वासन बाँडे ।
‘कालिकोट जिल्ला कर्णालीभित्र पनि हरेक सूचकाङ्कमा पछाडि छ । यो क्षेत्रलाई माथि उकास्ने मेरो प्रतिबद्धता भयो साथीहरू’, उनले भने । तर प्रचण्डको भाषण सुनिरहेका स्थानीय युवा हिक्मत मल्ल (२४) लाई भने उनको बोलीमा विश्वास छैन । ‘प्रचण्ड बेला–बेला कालिकोट आइरहन्छन्, अघिल्लो पटक आएका बेला पनि यस्तै भाषण दिएका थिए । आज पनि मतदाता रिझाउने भाषण दिए, हाम्रा दुःख जहाँका त्यहीं’, उनले भने ।
सदरमुकाम मान्म बजारको प्रमुख समस्या खानेपानी हो । नजिकमा पानीका मुहान छैनन् । टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्छ । खानेपानीका धारा ल्याउन पटक–पटक मान्मवासीले माग गरे, तर ती माग सम्बोधन हुन सकेनन् ।
‘बजारका सडक साँघुरा छन्, एउटा गाडी छिर्न सक्दैन, गर्मीयाममा खानेपानीको हाहाकार हुन्छ’ हिक्मतले अनलाइनखबरसँग भने, ‘बालविवाह, बेरोजगारी जस्ता समस्या हामी झेल्दै आएका छौं । तर नेताहरू जहिले पनि ठूल्ठूला भाषण र आश्वासन मात्रै दिन्छन् ।’
सदरमुकामका अधिकांश ठाउँमा सडकको ट्रयाक खोलिए पनि उचित मर्मतसम्भार नहुँदा स्थानीय आजित छन् । ‘बाटोको त बिजोग छ, जहिल्यै बनाउँछु भन्छन् तर उस्तै । धुलो–हिलो खाएर हिंड्नुपर्छ’ स्थानीय कालिबहादुर शाही (३४) ले भने ।