किन ज्यानभन्दा स्वतन्त्रता प्यारो युक्रेनीहरूलाई ?

धेरै नेपालीहरूको रूस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति अचम्मको लगाव छ।

उनीहरू सोच्छन्- युक्रेन मामिलामा पुटिनका सबै मागहरू अमेरिका र युरोपले मानिदिएको भए यत्रो युद्धै हुँदैन थियो। हजारौं मानिसको ज्यान बच्थ्यो। लाखौं घाइते हुँदैन थिए। दसौं लाख मानिस विस्थापित हुनु पर्दैन थियो।

आखिर पुटिनले रूसको सुरक्षा त मागेका थिए। उनको देशलाई नेटोले घेराबन्दी गर्न के जरूरी थियो? युक्रेनसित व्यापार सम्झौताका लागि युरोपेली संघले मरिहत्ते गर्नु के जरूरी थियो?

यत्रो युद्ध र विनाशपछि आखिर अमेरिका र युरोपको पछि लागेर, व्यंग्यकारबाट राष्ट्रपति बनेका भोलोदिमिर जेलेन्स्कीको वाहवाही गरेर युक्रेनले के पायो? अहिले उनीहरू तर्क गर्छन्।  

यो विषयमा मैले पहिले पनि लेखिसकेको छु। तर नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा अहिले चलिरहेको ‘लिटिल कमरेड’ शीर्षक सिनेमाले फेरि यस विषयमा थप लेख्न मलाई उत्प्रेरित गर्‍यो। २८ नोभेम्बरमा फेस्टिभल सकिएपछि चाहेर पनि यो सिनेमा हेर्न सकिने छैन। त्यसैले अहिलेको युक्रेनी मनोविज्ञान बुझ्न चाहने पाठकहरूलाई त्यो सिनेमा हेर्ने अवसर दिनु पनि यो छोटो टिप्पणीको उद्देश्य हो।

‘लिटिल कमरेड’ को कथा सन् १९५० को सोभियत संघमा सुरू हुन्छ। त्यो स्टालिनको २८ वर्षे शासनकालको आखिरी समय थियो। उनका कुख्यात ठूला नरसंहारहरू तबसम्म सकिइसकेका थिए। दैनिक हजारौंको मृत्युदण्डमा हस्ताक्षर गरेर सिनेमा हेर्न जाने उनको दिनचर्या पछि छुटिसकेको थियो। उनका आफ्नै आफन्तहरू उनको सत्ताबाट हत्या भएर, आत्महत्या गरेर वा हृदयाघात भएका कारण पातलिइसकेका थिए। उनी आफैंलाई बुढेसकाल लागिसकेको थियो।

तर सोभियत संघभर उनले संस्थागत गरेको आतंकको साम्राज्य जस्ताको तस्तै थियो।

‘अहिले त ज्युँदै छौं तर भरे के हो के हो’ भन्ने मनोविज्ञान आम नागरिकमा कायम थियो। सोभियत सत्ताको भयावह जासुसी संयन्त्र त सर्वत्र थियो नै, सिंगो समाज अरूलाई जासुस वा देशद्रोहीका रूपमा पोलेर आफ्नो ज्यान जोगाउने घातक होडमा थियो।

त्यस्तो पृष्ठभूमिमा इस्टोनियाको एउटा गाउँमा फेलिक्स र हेल्मेस छोरी लिलोसहित एक दिन घर सर्छन्। सर्दा पुरानै घरमा छुटेको एउटा खेलौना लिन ६–७ वर्षकी लिलो फर्कन्छिन् र त्यहाँ आएका नयाँ मानिसको आँखा छलेर सुटुक्क खेलौना निकाल्छिन्। तर निस्किँदै गर्दा उनलाई घरकी नयाँ मालिक्नीले भेट्छिन् जो सोभियत सत्ताको स्थानीय संयन्त्रसित जोडिएकी हुन्छिन्।

लिलोलाई उनकी आमा हेल्मेससित भेटाउने क्रममा ती मालिक्नीले हेल्मेसलाई नराम्रोसित झपार्छिन्। अर्को दिन सोभियत गुप्त प्रहरीको एउटा भ्यान आएर हेल्मेसलाई उठाएर लैजान्छ।

सिनेमामा लिलोको खेलौना प्रकरणकै कारण आमा चाहिँ पक्राउ परेको भन्ने कुनै संवाद छैन तर परिस्थितिजन्य प्रमाणले त्यसैलाई संकेत गर्छ। ती सानी बालिकालाई रूसीभाषी सोभियत मालिक्नीले अर्काको घरमा चियो गरेको, अवैध रूपमा भित्र छिरेको र चोरी गरेको मात्र होइन, ‘जनताको दुश्मन बनेको’ समेत आरोप लगाएकी थिइन्। उक्त आरोप स्टालिनको सोभियत संघमा मानिसलाई मृत्युदण्ड दिन काफी हुन्थ्यो।

दशकौं सोभियत सत्ता झेलेका वयस्कहरूलाई त्यसको अर्थ सदाका लागि बेपत्ता वा मृत्युदण्ड हुन सक्छ भन्ने थाहा छ। तर छोरीलाई त्यो कटु सत्य बताउने अवस्थामा उनीहरू छैनन्।

त्यसैले बिदा हुनुअगाडि हेल्मेस भन्छिन्- छोरी, तिमी ज्ञानी भयौ भने मात्रै म फर्कन्छु। 

त्यसपछि बाउछोरीले वर्षौंसम्म गर्ने संघर्ष, उनीहरूको असहायपन, बाबुआमाले छोरीलाई बताएको झुटका कारण दुईबीच उत्पन्न हुने द्वन्द्व र उनीहरूजस्ता निरीह नागरिकहरूले अलिकति आत्मसम्मान र ज्यान एकसाथ जोगाउन गरेको संघर्षको हृदयविदारक कथा हो ‘लिटिल कमरेड’।

सिनेमाभरि सोभियतकालीन इस्टोनियाको यस्तो जीवन्त चित्रण छ कि क्यामराले खिचेको भौतिक दृश्यलाई निरीह इस्टोनियालीहरूको सोभियत सत्ताप्रतिको क्षोभ, दुःख, पीडा, आत्मग्लानी र निरूपायताको भावनात्मक पत्रले लपेटेको महसुस गर्न सकिन्छ। स्टालिनको अमानवीय सत्ताले छेउबाटै एकएक गरी आफन्तहरू उठाउँदै लैजाँदा आफ्नै सद्देपना कायम राख्न आम इस्टोनियालीहरूले दशकौंसम्म गरेको हरक्षणको संघर्षको अनुपम कथा हो यो सिनेमा।

साम्यवादका नाममा स्टालिनको संयन्त्रका मानिसहरूले जेजे गर्छन् त्यसले अहिले वामपन्थी राजनीतिका नाममा नेपाललगायत संसारका धेरै देशमा मच्चिरहेको लुटतन्त्रलाई समेत चित्रित गर्छ।

जस्तो कि दासवत् काम गर्नका लागि साइबेरियामा निकाला गरिएका आफन्तजनलाई भनेर इस्टोनियालीहरूले ताता लुगा बुनेर सोभियत सत्ताका स्थानीय दूतहरूसित पठाउँछन्। ती दूतले ती लुगा आफैं त लगाउँछन् नै, तिनलाई पुर्‍याइदिन आवश्यक पर्ने भनेर पठाउनेहरूसित नियमित सयौं रूबल थप धुत्छन्। सोभियत संघलाई धानेको भीमकाय कालो अर्थतन्त्रको त्यो हिस्साले आफन्त गुमाएका धेरै इस्टोनियालीहरूलाई थप कंगाल बनाउँछ।

एक दिन लिलोले बेपत्ता पारिएकी आमाबारे सत्य कुरा थाहा पाउँछिन्। त्यो क्षणमा मानिस जातिमाथिकै उनको विश्वास उड्छ किनकि उनले विश्वास गरेका बाबुले यतिका वर्षदेखि आफूलाई ढाँटेको पत्तो पाउँछिन्।

सधैंभर भरेभोलि आमा आइहाल्छिन् भन्ने झुट पत्याएर त्यसैको आधारमा बाँचेकी उनीमाथि आकाशै खस्छ।

उनी एक्लै भागेर एउटा विशाल रूखमुनि गएर त्यसलाई भन्छिन्- मेमे, तुला तगासी। अर्थात्, आमा, फर्कनुस्।

कारण- कुनै बेला उनलाई आमाले भनेकी हुन्छिन्, रूखले मानिसको कुरा सुन्छन् र पीडा कम गरिदिन्छन्।

सोभियत सत्ताको दलदलबाट हेल्मेसलाई निकाल्नु उनको परिवारको वशको कुरा थिएन। तर परिवारका बाँकी सदस्यलाई त्यही भासतिर तानिनबाट रोक्न परिवार र उनीहरूको शुभेच्छुकलाई हम्मेहम्मे पर्छ। फेलिक्स आफैं ज्यान जोगाउन ‘गद्दार’ श्रीमतीसित छोडपत्र दिनुपर्ने अवस्थामा पुग्छन्।

यो सिनेमा हेर्दा मलाई लागिरह्यो यो इस्टोनियाको मात्रै कथा होइन। पोल्यान्ड, लात्भिया, कजाकास्तान, तुर्कमेनिस्तान, आर्मेनिया, जर्जिया र युक्रेनलगायत सोभियत साम्राज्यको पञ्जामा परेका सबै समाजहरूको साझा कथा हो।

यो वर्ष जब भ्लादिमिर पुटिनले युक्रेनमा धावा बोले, नेपाल लगायत संसाभरका वामपन्थी र उग्र दक्षिणपन्थीहरूले त्यसमा पुटिनको ‘नेटोलाई प्रतिकार गर्ने बहादुरी’ देखे। तर पोल्यान्डदेखि इस्टोनियासम्मका मानिसहरुलाई स्टालिनकालीन शासनको दुस्वप्न फेरि विपना बन्ने भयले छोप्यो। मानिसहरूका खाटा बसिसकेका घाउ फेरि आलो बने। विगत बनेर पुरिइसकेका सामूहिक चिहानहरू भविष्य पनि बन्लान् कि भन्ने अवषाद थपियो।

पुटिनले आक्रमण त युक्रेनमा गरेका थिए तर उनको सपना सोभियतकालीन भूभागमध्ये कम्तीमा उनी आफैंले ‘नोभोरोसिया’ भन्ने गरेको रूसीभाषीहरूको बाहुल्य भएका विभिन्न देशका क्षेत्रहरू फेरि बलपूर्वक रूसमा मिलाउने नियत छर्लंग पारेका थिए।

यसरी यो वर्षको फेब्रुअरीमा रूस वरपरका धेरै देशहरूले एकसाथ आफ्नो अस्तित्वमा संकट आएको महसुस गरे। त्यसैले त्रासद विगत दोहोरिन नदिन ती सबै देशका नागरिकहरूले मानवीय सहयोगदेखि ज्यानसम्म दिन अघि सरे।

तीनतिर घेरा हालेर पुटिनले युद्ध छेडेपछि युक्रेनीहरू त ‘गर वा मर’ को अवस्थामा भइहाले। 

उनीहरूका अगाडिको एउटा बाटोले रूससितको रक्तपातपूर्ण युद्ध, ठूलो धनजनको क्षति र सम्भावित (सुरूमा अवश्यम्भावी मानिएको) हारतिर डोर्‍याउँथ्यो। 

अर्को बाटोले रूसका अगाडि दासतुल्य हुने अवस्थातिर डोर्‍याउँथ्यो। रूसले युक्रेनमा धावा बोलेको तेस्रो दिनतिरै सन् २०१४ मा सय जना युक्रेनीलाई मारेर सत्ता जोगाउन खोज्दा असफल भएर रूसतिर भागेका भिक्टर यानुकोभिच किभको सत्ता सम्हाल्न भनेर रूसबाट बेलारूसको राजधानी पुगिसकेका थिए।

युक्रेनीहरूले पहिलो बाटो समात्न हिच्किचाएनन्। न पोल्यान्ड, रोमानिया, इस्टोनिया र लात्भियाजस्ता छिमेकी देशहरूले युक्रेनीहरूलाई मानवीय र अन्य सहयोग गर्न कुनै कसर नै बाँकी राखे। बेलारूसका रेलवे मजदुरहरूले त रूसका बन्दोबस्तीका सामग्री ओसार्ने रेल रोकिदिएर किभलाई घेराबन्दी गर्न गएका हजारौं ट्यांकमा तैनाथ सेनालाई भोकै पारेर पछि हट्न बाध्य पारे।

इतिहास भुलिनसकेका ती सबै देशका मानिसहरूलाई लाग्यो- विश्वभरका ‘शुभचिन्तक’ हरूको कुरा सुनेर रूसका शर्त मानेर युद्ध रोक्नुको अर्थ हुन्थ्यो स्टालिनको मृत्युपछि केही खुकुलिएको तर सोभियत संघको पतन हुने बेलासम्म पनि कायम रहेको क्रुर र अमानवीय व्यवस्थालाई फेरि निम्तो दिनु।

त्यो उनीहरूलाई कसै गरी स्वीकार्य थिएन।

त्यसैले छिमेकी देशका समेत हजारौं युवाहरू युक्रेनमै गएर समेत लडे।

नेपालदेखि ब्राजिल र चेक गणतन्त्रसम्मका वामपन्थी र उग्र दक्षिणपन्थीहरूले चीनदेखि रूस र इरानसम्मका अनुदारवादी तानाशाही शासनलाई देखाउँदै अहिले भनिरहेछन्- आखिर मानिस खुसी र समृद्ध हुन ‘पश्चिमा’ हरूको जस्तो उदार लोकतान्त्रिक व्यवस्था नै चाहिन्छ भन्ने पो कहाँ छ र?

आजका दिनसम्म पनि उनीहरूले युक्रेनीहरूलाई उपदेश दिइरहेका छन्- भित्तामा टाउको नठोक्काऊ, रूससित सुलह गर।

तर युद्ध मैदानका पछिल्ला विकासक्रमहरू हेर्ने हो भने युक्रेनीहरूले टाउकोले फोडेर भित्ता नै भत्काइदिने लक्षण ल्याइरहेका छन्। किभ र खार्किभबाट अपमानपूर्वक पछि हट्न बाध्य भएका पुटिनका सेना हिजोअस्ति मात्र खेर्सन सहरबाट पनि पछि हट्न बाध्य भएका छन्।

यो सब किन सम्भव भएको छ त?

फेरि संसारभरका पुटिनका समर्थकहरू भन्छन्- युक्रेनलाई नेटोले समर्थन गरेको कारण।

यो युद्धमा नेटोले युक्रेनलाई सहयोग गरेको कुरा सही हो। तर यसमा पूर्वी युरोपका उत्तर-सोभियत गणराज्यहरू मिलेर पुटिनलाई झन्डै परास्त गर्नु पछाडिको निर्णायक कारण अर्कै छ। उनीहरूलाई फेलिक्स, हेल्मेस र लीलोको जस्तो बन्धक जिन्दगी बाँच्नु थिएन। 

अहिलेसम्म युक्रेन युद्धको परिणाम हेर्दा लाग्छ, लाखौंको बलिदानी दिएर करोडौंको स्वतन्त्रता बचाउने उनीहरूको अभियान सफल हुनेछ। त्यसो भएमा बेलारूसदेखि इरानसम्म, ताइवानदेखि रूससम्मै तानाशाहहरूले बन्धक बनाएका वा पैतालामुनि दबाएका नागरिकहरूको स्वतन्त्रताको बाटो खुल्नेछ।

सायद अझै पनि मानिस जातिलाई ज्यान अनि स्वाभिमान र स्वतन्त्रता उत्तिकै प्रिय छन्। 

सेतोपाटीबाट साभार गरिएको हो।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

के ‘सदगुरु’ जग्गी वासुदेव नै हुन्?

सन् २०१९  डिसेम्बर २८ का दिन भारतका प्रख्यात ‘गुरु’ जग्गी वासुदेवको युट्युब च्यानलमा एउटा भिडिओ प्रकाशित भयो। शीर्षक थियो- सदगुरु अन सिटिजनशिप अमेन्डमेन्ट एक्ट एन्ड एनआरसी। त्यसको दुई दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसाको पुल बाँध्दै वासुदेवको उक्त भिडिओ ट्विटरमा सेयर गरे- झन्डै २२ मिनेटको भिडिओमा मोदी सरकारले ल्याएका नागरिकतासम्बन्धी कानुनहरूबारे वासुदेव भनाइको सार यस्तो छ- नागरिकता संशोधन […]

Read More

कहिल्यै आएन आमाहरूलाई दसैं

बाल्यकालमा दसैं सधैं रमाइलो भयो। स्कुल बिदा हुने। नयाँ कपडा, मीठो खानेकुरा र पिङ खेल्न पाइने। मामाघर गएर दक्षिणा पाइने। पाहुनाहरूले ल्याएको ठाउँ-ठाउँको कोसेली खान पाइने। तर अचेल दसैं लगायत चाडपर्वका बेला आफ्नी आमा र अरू आमाहरूको भोगाइ देखेर कहाली लागेर आउँछ। चाडपर्वमा घरमा रमझम बढ्छ। घरको सबै लुगाफाटो धुने। सबै भित्ता र भुइँ लिपपोत गर्ने। साना […]

Read More

मेरो कर्णाली सपना

सन् १९६३ को अगस्ट महिनामा मार्टिन लुथर किंग जुनियरले एक भाषणमा भनेका थिए – ‘आई ह्याव ए ड्रिम’। आजपर्यन्त अमेरिकी सिभिल राइट्स मुभमेन्टमा भएको उक्त भाषण संसारको सबैभन्दा सुन्दर भाषण मध्येमा दरिएको छ। उक्त सपनाले आजसम्म अमेरिकामा समानताको लडाइँलाई उद्वेलित गराउने र उर्जा थप्ने काम गरेको छ। आज तिनै मार्टिन लुथर किंगका शब्द र भावना […]

Read More