कहिल्यै आएन आमाहरूलाई दसैं

बाल्यकालमा दसैं सधैं रमाइलो भयो। स्कुल बिदा हुने। नयाँ कपडा, मीठो खानेकुरा र पिङ खेल्न पाइने। मामाघर गएर दक्षिणा पाइने। पाहुनाहरूले ल्याएको ठाउँ-ठाउँको कोसेली खान पाइने।

तर अचेल दसैं लगायत चाडपर्वका बेला आफ्नी आमा र अरू आमाहरूको भोगाइ देखेर कहाली लागेर आउँछ।

चाडपर्वमा घरमा रमझम बढ्छ। घरको सबै लुगाफाटो धुने। सबै भित्ता र भुइँ लिपपोत गर्ने। साना केटाकेटीका लागि पिङ हालिदिने। चिउरा कुट्ने र मसला पिन्ने। तेल पेल्ने। घरको आँगन र फूलबारी चिटिक्क बनाउने। टपरी र दुना गाँस्ने।

अचेल प्रविधि र बजारको सहज पहुँचले भलै केही कुरा सजिलो बनाएको छ। घन्टौं लाएर ढिकी र जाँतोमा पिठो पिस्नु पर्दैन। टोलटोलमा मिल छ र घरमा मिक्स्चर पनि छ। चाहिने खानेकुरा बजारमा सहजै पाइन्छ। सहरमा त होम-डेलिभरी व्यवस्था पनि छ।

चाडपर्वमा घरहरूमा अरू समयको भन्दा कामको चाप धेरै हुन्छ।  केही अपवाद परिवारहरू पक्कै छन्, तर त्यो अधिकांश काम घरको महिला सदस्यले नै गरेको देखिन्छ। 

आफ्नो गाउँको अधिकांश घरहरूमा चाडपर्वका बेला बाल्यकालदेखि नै देखियो- महिला सदस्यहरू भान्सामा हुने, खाने परिकारहरू बनाउने, सुरूमा पुरुषलाई खुवाउने, बालबालिकालाई स्याहार्ने, आफू अन्तिममा खाने, सबैको भाँडा माझ्ने, खुवाएको ठाउँ लोटाउने, दुना-टपरी गाँस्ने, फेरि अर्को छाकको खानाको तयारी गर्न थाल्ने।

त्यति बेला पुरुषहरू भने तास वा जुवा खेलिरहेका हुन्थे। बेलाबेला चिया, सर्वत वा पानी ल्याउन निर्देशन दिन्थे। बोलाएको समयमा खान पनि जान्थेनन्। खाएकै ठाउँमा जुठो भाँडा छाडेर हिँड्थे। कुनै कुराको स्वाद भनेजस्तो भएन भने उल्टै गाली गर्थे। 

पुरुषहरूले खाएपछाडि केटाकेटीको पालो आउँथ्यो। अन्तिममा बल्ल महिलाहरूको पालो आउने। त्यति बेला सबैभन्दा ‘मिठो’ कुरा थोरै भइसक्थ्यो। कति कुरा सकिन्थ्यो। 

समाजमा ‘मर्द’ देखिने र पैसासँग सम्बन्धित काम पुरुषको हुन्थ्यो- घरमा मासुको व्यवस्था गर्ने (घरमा नै काटेर वा छिमेकमा कतै किनेर), पुरुष पाहुनासँग गफ गर्ने, पाहुनाहरूको यथोचित सत्कारका लागि निर्देशन दिने, टिकाटालो गर्ने पैसा व्यवस्था गर्ने।

दसैं र अन्य चाडपर्वहरू पुरुष र केटाकेटीका लागि रमाउने उत्सव थियो। परिवारका महिला सदस्यहरू चाहिँ त्यस उत्सवका व्यवस्थापकहरू थिए। उनीहरूले सबै कुराको चाँजोपाँजो मिलाउनु पर्थ्यो। फूलपातीदेखि नवमीसम्म घरकै मान्छेहरूको लागि खुवायो। दशमीदेखि पाहुना आउन थाल्छन्। उनीहरूका लागि खाने बस्ने व्यवस्था गर्‍यो।

दसैंको पूर्णिमापछि आमा थकित देखिनु हुन्थ्यो। यसको कारण थाहा पाउन मलाई धेरै समय लाग्यो। आमाको हरेक दिन घरधन्दा, गोठ र मेलापातमा बित्थ्यो। झन् चाडपर्वका बेला त्यो कामको चाप ह्वात्तै बढ्थ्यो।

समाज र घरमा बाल्यकालदेखि जे देखियो र सिकियो, त्यो सम्झेर पछुतो लागेर आउँछ। ‘पुरुष’ भएर हुर्केकोमा अपराधबोध भएर आउँछ।

मेरा लागि उत्सव र रमाइलो हुने चाडपर्व आमालाई कहिल्यै आएनछ। आफ्ना सन्तानको खुसी देखेर खुसी हुने एउटा महानता होला। तर आमाको पनि निश्चित शारीरिक क्षमता हुन्छ। सन्तानका लागि भनेर कति आफ्नो क्षमतालाई तन्काउनुभयो होला। त्यो एउटा बाध्यता पनि थियो। 

बाल्यकालदेखि आमा स्वतन्त्र हुनुहुन्न थियो। पढ्न पाउनुभएन। प्रौढ शिक्षाबाट बल्ततल्ल आफ्नो दस्तखतसम्म गर्न सक्नुहुन्छ। मामाघरमा हुँदा उहाँ हजुरबुवाकी छोरी हुनुभयो। बिहे भएर घरमा आएपछि उहाँ बुवाकी श्रीमती हुनुभयो। 

उहाँले गरेको घर, गोठ र खेतबारीको कुनै पनि कामबाट पैसा आउँदैन थियो। फेरि त्यस कामको महत्व पनि कसैले दिँदैन थियो। आफूलाई चाहिने अलिअलि खर्चका लागि आमा अरूमा नै निर्भर हुनुपर्‍यो।

एकैछिन आमाको ठाउँमा आफूलाई राखेर हेर्दा कहाली लाग्छ, बिहानदेखि बेलुकासम्म निरन्तर खटेर पनि परनिर्भर हुँदा कस्तो महसुस हुन्थ्यो होला! 

त्यो परनिर्भरताले यति अभ्यस्त बनायो कि आमालाई त्यही स्वतन्त्रता लाग्न थाल्यो। आमालाई त्यही ठीक लाग्न थाल्यो। जुन उमेरदेखि म आफ्नो काम आफैं गर्न सक्थेँ, त्यो बेला पनि गर्न दिनुभएन। आफूले भ्याए आफूले, नभए दिदीहरूलाई मेरो कपडा धुन दिनुहुन्थ्यो। कुनै दिन आमाको आँखा छलेर आफैंले लुगा धोएमा दिदीहरूले गाली खान्थे। 

आफ्नो टोलछिमेक र अन्य समुदायमा हेर्दा लाग्छ, यो मेरो आमाको मात्र कथा होइन। यो देशका लाखौं आमा र महिलाहरूको कथा हो। 

यो देखेर हुर्किँदै गर्दा बाल्यकालमा लाग्थ्यो, मसँग मेरा दिदीहरूभन्दा धेरै शक्ति छ। म उनीहरूभन्दा स्वतन्त्र छु। बिहेपछि दिदीहरूको गोत्र र थर परिवर्तन हुन्छ। त्यसपछि उनीहरू घरको कूल कोठामा समेत पस्न हुँदैन। 

छोरीबारे छरछिमेकमा सुनिरहेको हुन्थेँ- अरूको भित्तो टाल्ने जातलाई धेरै के पढाउनु र! 

अभिभावकहरूले छोरीको पढाइलाई महत्व नदिएको बाल्यकालमा नै महसुस हुन्थ्यो। बाल्यकालमा आफ्नै घरलाई ‘यो तिम्रो घर होइन, तिम्रो घर त अर्कै छ’ भनिदिँदा दिदीहरूको मनस्थितिमा कस्तो असर पर्थ्यो होला! 

यसैको परिणाम होला, कक्षाकोठामा केटाहरूले केटीहरूलाई हेप्थे। हामी विद्यार्थीहरू पुरुष शिक्षकलाई जति महिला शिक्षकलाई सम्मान गर्थेनौं। मिसहरूको कक्षामा अटेर गर्थ्यौं। बढी हल्ला गर्थ्यौं। 

अफशोच! धेरै पछिसम्म आफूले नजानेर वा जानेर घर र समाजमा महिला सदस्यमाथि विभेद भइरहँदा कसैले भनेन, तिमीले गल्ती गरिरहेका छौ भनेर! तिमी र तिम्रो दिदीको बराबर हक र हैसियत छ भनेर!

उल्टै आफूले आफ्नो काम गर्दा वा घरधन्दामा सामेल हुँदा गाली खानु पर्थ्यो। भाँडा माझ्ने, खाना बनाउने,  कपडा धुने काम पुरुषले गर्दा इज्जत गएजस्तो गर्थे मानिसहरू।  

घरधन्दामा सामेल हुने वा सघाउने पुरुषहरूको कुरा काटेको सुनिन्थ्यो- कस्तो ‘आइमाई’ जस्तो रैछ, ‘जोइटिंग्रे’ रैछ आदि।

बाल्यकालदेखि नै वयस्कहरूको सोच र व्यवहारबाट यस्तो सिकाइएको थियो- पुरुषको जीवनको लक्ष्य त विद्वान हुने, व्यवसाय-जागिर गर्ने वा देशमा शासन गर्ने हो। सानोतिनो घरायसी धन्धामा पुरुष अलमलिनु हुँदैन। त्यो गर्ने जिम्मा महिलाहरूको हो। उनीहरूको सिर्जना नै पुरुषहरूको सेवा गर्न भएको हो। बिहे हुनुअगाडि पुरुषको सेवा गर्ने जिम्मा आमा-हजुरआमा, दिदी-बहिनी, भाउजू वा परिवारका अन्य महिला सदस्यको हो। बिहेपछि त्यो जिम्मेवारी श्रीमतीले निर्वाह गर्नुपर्छ।

यसरी महिलाप्रतिको पूर्वाग्रह र विभेदको बीउ बाल्यकालको कलिलो उमेरदेखि नै रोपिएको हुन्छ। 

टिच फर नेपालको फेलोसिपको दौरान दक्षिण ललितपुरको एउटा बस्तीमा छात्राहरूको कथा र अनुभवलाई नजिकबाट बुझेपछि झल्यास्सँ भएको थिएँ, पुरुषहरूले गलत शिक्षा पाइरहेका छन्। 

कमला भासीनको अपेक्षा विपरीत ‘मर्द’ को भार बोकिरहेका छन्। पुरुषहरूले महिलाप्रति समानुभूति राख्न सकेका छैनन्। महिलाका सवालहरूलाई उपेक्षा गरिरहेका छन्। 

मैले काम गरेको विद्यालयमा एकपटक वडाको केही बजेट आउने भएछ। स्थानीय सामाजिक परिचारिकाले माध्यमिक तहका विद्यार्थीहरूसँग उनीहरूको आवश्यकताबारे बुझिन्।

छात्राहरूले कुरा राखे, महिनावारीका बेला धेरै साथीहरूलाई विद्यालय आउन गाह्रो हुन्छ। स्यानिटरी प्याड किन्ने पैसा हुँदैन। विद्यालयमा पर्याप्त पानी नभएकोले आफूले प्रयोग गर्ने कपडा सफा गर्ने ठाउँ छैन। पानी भए पनि सफा गरेर विद्यालयमा सुकाउन लाज लाग्छ। विद्यालयमै स्यानिटरी प्याड र त्यसलाई व्यस्थापन गर्नमा बजेट खर्च गरौं।

उक्त प्रस्तावको धेरै छात्रहरूले विरोध गरे र आफ्नो कुरा राखे, विद्यालय डाँडामा भएकाले चौरबाट फुटबल खेल्दा डाँडाबाट तल झर्छ। फुटबल खेल्ने चौरमा तारजाली लगाऔं। 

छात्र र छात्रा आ-आफ्नो अडानमा रहे। परिचारिकाले एउटालाई मात्र अहिले प्राथमिकता दिने कुरा राख्दै सबैको सहमतिमा एउटा छनौट गर्न भनिन्। तर त्यो विवाद सोचेजस्तो छिटो सल्टिएन। 

छात्रहरूको तर्क थियो- महिनावारीका बेला घरबाट ‘टालो’ ल्याए भइहाल्यो नि। तीस मिनेटको खेलमा डाँडाबाट बल तल झर्दा बल खोज्नै दस मिनेट लाग्छ। तारजाली हाम्रो प्राथमिकता हो। फुटबल केटालाई मात्र होइन, केटीलाई पनि हो। 

छात्राहरूको तर्क थियो- फुटबल छेक्न तारजाली नभएकै कारणले तिमीहरू स्कुल आउन नपाउने त होइन नि! अहिलेका लागि अति आवश्यक कुरा स्यानिटरी प्याड हो।

लामो तर्क हुँदा पनि छात्रहरूलाई बुझाउन नसकेपछि केही छात्राहरू रोएर रिसाउँदै भनेका थिए, ‘हाम्रो दुःख अरूलाई के मतलब, तारजाली नै हाल्दिनुस्।’

उक्त समय छात्रहरूलाई छात्राको दृष्टिकोणबाट हेर्न साह्रै कठिन भएको थियो। छात्राहरूले भनेको कुरासँगै उनीहरूलाई महसुस भएकै थिएन- कक्षा चलिरहँदा घरेलु टालो धोएर सुकाउने समय पनि हुँदैन। धेरै श्राव भएको अवस्थामा सामान्य टालोले असहज हुन सक्छ।

एउटै टोल र एकै जातिका विद्यार्थी भएकाले लगभग सबै छात्र र छात्राबीच नाता पर्थ्यो। तर पनि छात्रहरूलाई छात्राहरूले हरेक महिना भोग्नु पर्ने पीडा थाहा थिएन।

ती छात्रहरू जस्तै कैयौं वर्षसम्म मलाई आफ्नै आमा, दिदी, भाउजू र भतिजीहरूको परिवार र समाजमा हुने अनुभव अड्कल लाउनै नसकेको महसुस भयो। आफ्नो कार्यस्थलमा महिला सहकर्मीको अनुभव थाहा पाउने प्रयास नै भएन। कार्यस्थलमा पनि पुरुष नेतृत्वलाई स्वीकार्न जति सजिलो हुन्थ्यो, उत्ति नै क्षमतावान महिला नेतृत्वलाई स्वीकार्न गाह्रो भएको थियो। पुरुषलाई जसरी सुनिन्थ्यो, महिलाको कुरा उति गम्भीरताका साथ नसुनेको महसुस भयो।

बाल्यकालदेखि जरा गाडेको पूर्वाग्रह र विभेदको सोच र व्यवहार हटाउन समाजका हरेक पक्ष लाग्नै पर्छ। आफ्नै परिवारका महिला सदस्यहरूको अनुभव बुझ्दै गर्दा लाग्दैछ, पुरुषहरूलाई नयाँ शिक्षाको खाँचो छ। पुरानै ढर्रामा जाने हो भने विभेदका स्वरूपहरू दशकौंसम्म हट्ने संकेत देखिँदैन। 

ज-जसले पूर्वाग्रह र विभेदको पक्षपोषण गरिरहेका छन्, उनीहरूले नयाँ ढंगले सोच्नैपर्छ।

पहिलो, परिवार र समाजमा पुरुषहरूको हुर्काइको शैली परिवर्तन गर्नैपर्छ।

माथि धेरै उदाहरण छन्। दिदीहरू र मैले घर र गाउँमा पाउने सम्मान र स्वतन्त्रता फरक थियो। म ‘पितृलाई मुक्ति दिने छोरो’ का रूपमा सधैं लाभान्वित भइरहेँ।

विद्यालय टेक्न नपाएको पुरानो पुस्तालाई लैंगिक रूपमा गर्नुपर्ने समान व्यवहारबारे नयाँ डिग्रीधारी पुस्ताले बुझाउँदै लानु पर्ने थियो। तर अधिकांश नयाँ पुस्ता उही दलदलमा फसेको छ। समाजका लागि यो झन् घातक छ।

धेरै ठाउँमा पुरुष र बालबालिकाले खाएपछि अन्तिममा महिलाले खाने भएकाले कतिपय अवस्थामा महिलालाई पोषण नपुगेको विभिन्न अनुसन्धानहरूले देखाएका छन्।

उमेर बढेपछि आफ्नो सोच र व्यवहार परिवर्तन गर्न जति मेहनेत गर्नुपर्छ, सानो उमेरमा उति नै सजिलो हुन्छ। यसर्थ सानै उमेरदेखि बालबालिकालाई सिकाउनुपर्छ कि घर सम्हाल्ने दायित्व महिलाको मात्र होइन। यो त सबैको काम हो। 

दोस्रो, मिडिया र साहित्यले दिने सन्देशबारे सोच्नै पर्छ।

सिनेमा र साहित्य कस्तो हुनुपर्छ भन्नेमा मूल दुई विचारधारा देखिन्छन्।

एउटा, समाज जस्तो छ, त्यस्तै देखाउने।

अर्को, समाज जस्तो छ र समाज जस्तो हुनुपर्ने हो, दुवै देखाउने। 

आज पनि धेरै फिल्म-टेलिफिल्महरूले देखाइरहेका छन्- घरको काम महिलाकै हो। महिलाहरूले कचकच र गनगन गर्छन्। पुरुषलाई ‘दुःख’ दिन्छन्। 

विभिन्न साहित्यमा धेरै पुरुषहरू व्यङ्ग्य गर्दै भन्छन्- जुन दिन मेरो विवाह भयो, त्यो दिनबाट मैले आफ्नो स्वतन्त्रता गुमाएँ।

वास्तवमा विवाहपछि स्वतन्त्रता गुमाउने त महिलाहरू हुन्छन्। 

धेरै वर्षअगाडि ‘तीतो सत्य’ टेलिसिरियलमा एक पात्रले मजाक गर्दै भनेको थियो, ‘महिलाहरू सुखी हुन्छन् किनकि महिलाहरूको स्वास्नी हुँदैनन्।’

उनीहरूले दर्शक हँसाउनका लागि यस्ता सामग्री पस्किएका होलान्। तर यस्ता सामग्रीले सदियौंदेखि प्रताडनमा रहेका एक लैंगिक समूहमाथि धज्जी उडाएका हुन्छन्। यस्ता सामग्रीबाट कति वयस्कहरू हाँस्लान्, कतिले चित्त दुखाउलान्। तर बालबालिकामा पनि यसको प्रभाव गहिरो पर्छ। उनीहरू त्यसको नक्कल गर्न थाल्न सक्छन्।

धेरै चलचित्रका दृश्य र साहित्यमा पुरुषले खाना पकाएमा, लुगा धोएमा, भाँडा माझेमा उक्त पुरुषलाई गिज्याइन्छ। अविवाहित पुरुषले खाना पकाएको दृश्य देखाएर धेरै ठाउँमा उसलाई विवाहितहरूले उपदेश दिन्छन्, ‘कति दुःख गर्छस्। अब खाना पकाउने र लुगा धुने मान्छे खोज्।’

‘रेडियो अडियो’ मा केही दिनअगाडि एउटा चुट्किला बजेको थियो। उक्त चुट्किलामा एक पुरुष पात्रले बेलुकाको भाँडा सधैं माझ्नुपर्‍यो भनेर अर्को पुरुष पात्रले खिल्ली उडाउँछ। 

बालबालिकामा मिडिया र साहित्यको प्रभाव महत्वपूर्ण हुन्छ। यी माध्यमबाट जाने सन्देशबारे सम्बन्धित व्यक्ति तथा निकायले मनन गर्नै पर्छ।

तेस्रो, विद्यालयमा ‘समानता’ पढाउने मात्र होइन, सिकाउनुपर्छ।

आज फर्केर हेर्दा लाग्छ, विद्यालयले टाढा-टाढाका धेरै कुरा पढायो। हिटलरको बन्दीगृहमा तड्पिएका मानिसको कथा पढायो, सुडान र कंगोमा गरिबीको दुःख देखायो, नेपालमा लैंगिक विभेदबारे अनेकन कोणबाट निबन्ध लेख्न सिकायो। तर आफ्नै परिवारका सदस्यको अनुभवबारे हेर्ने, सोच्ने र छलफल गर्ने कुरा पाठ्यक्रममा अटाएन। म्यारी क्युरीले आविष्कारका लागि गर्नुपरेको संघर्ष पढायो तर आफ्नै आमाको जिन्दगी चिहाउन सिकाएन।

परिवार र मिडियाले सिकाउन नसके पनि विद्यालयले सिकाउनु पर्थ्यो। विद्यालयको चेतना समाजका सबै पक्षभन्दा अगाडि हुनुपर्छ। विद्यालयले समाजमा चेतनाको नेतृत्व गर्नुपर्ने थियो। तर विद्यालय पनि परिवार र समाजका कुरीति र विभेदलाई अझ शक्तिशाली ढंगले स्थापित गरिदिने माध्यम बनिदियो। 

म प्राथमिक तहमा हुँदा सबै विद्यार्थीले आ-आफ्नो कक्षाकोठा सफा गर्नुपर्थ्यो। शुक्रबार चौरको सफाइ, बगैंचाको गोडमेल र कक्षाकोठाको लिपपोत गर्नुपर्थ्यो। मेरो कक्षामा दुई केटी साथीहरू र बाँकी १४-१५ जना केटाहरू थिए। शुक्रबार हामी केटाहरू ठेलागाडा लिएर गोबर खोज्न जान्थ्यौं। फूलबारीमा गोडमेल गर्थ्यौं। चौरको झार सफा गर्थ्यौं। तर हामीले कहिल्यै कक्षाकोठामा लिपपोत गरेनौं। लिपपोत गर्ने काम तिनै दुई केटी साथीहरूको थियो।

हामीलाई लाग्थ्यो- लिपपोत गर्ने काम केटीको हो। बाहिरको काम केटाको हो। यसमा विद्यालयले पनि कुनै हस्तक्षेप गरेन।

हो, जिम्मेवारी बाँडफाँट हुनुपर्थ्यो। तर लिंगका आधारमा जिम्मेवारी बाँडफाँट हुँदा पनि केही हस्तक्षेप नगरेकाले विद्यालयले परिवार र समाजकै मान्यता स्थापित गरिदियो। 

कति महिला शिक्षकहरूले विद्यालयमा आफ्नो अनुभव सुनाउँछन्- पुरुष शिक्षकजस्तो उनीहरूलाई विद्यालय नेतृत्वले महत्व दिँदैन। उनीहरूको कुरा राम्रोसँग सुन्दैन र बुझ्न खोज्दैन। 

आज सबैलाई सामाजिक सन्जालको सहजै पहुँच भएको स्थितिमा बालबालिकालाई कुन सही र कुन गलत हो छुट्याउन कठिन हुन सक्छ। मिडिया र साहित्य आफैंमा पूर्वाग्राही हुन पनि सक्छ। यस्तो अवस्थामा विद्यालयको जिम्मेवारी हो, समालोचनात्मक चिन्तन सिकाउने। सही र गलत छुट्याउन सिकाउने। अनि, कमसेकम आफ्नो परिसरमा एक आदर्श समाजको अभ्यास गर्ने। 

निरंकुशतासँग लडेर ल्याएको लोकतन्त्र शासन व्यवस्थामा मात्र आएर पुग्दैन। घर-घरमा आउनु आवश्यक छ। हरेक घर र समाजमा सबैले समानताको महसुस गर्नु आवश्यक छ। 

यस लेखको सुरूमा उल्लेख गरिएको दसैंको प्रसंग एक उदाहरण मात्र हो। हामी हरेक दिन देख्छौं, पुरुष, महिला र लैंगिक अल्पसंख्यकको समाज र परिवारमा हैसियत फरक फरक छ। 

चाडपर्वहरू कुनै एक समूहका लागि मात्र होइनन्। यो त सबैका लागि ‘भ्याकेसन’ हो। परिवार सँगै बसेर कुराकानी गर्ने अवसर हो। परिवारका सबै सदस्य मिलेर सबै काम बाँडफाँट गर्ने हो भने यो सबैका लागि उत्सव हुन सक्छ।

सेतोपाटिबाट साभार गरिएको हो।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

के ‘सदगुरु’ जग्गी वासुदेव नै हुन्?

सन् २०१९  डिसेम्बर २८ का दिन भारतका प्रख्यात ‘गुरु’ जग्गी वासुदेवको युट्युब च्यानलमा एउटा भिडिओ प्रकाशित भयो। शीर्षक थियो- सदगुरु अन सिटिजनशिप अमेन्डमेन्ट एक्ट एन्ड एनआरसी। त्यसको दुई दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसाको पुल बाँध्दै वासुदेवको उक्त भिडिओ ट्विटरमा सेयर गरे- झन्डै २२ मिनेटको भिडिओमा मोदी सरकारले ल्याएका नागरिकतासम्बन्धी कानुनहरूबारे वासुदेव भनाइको सार यस्तो छ- नागरिकता संशोधन […]

Read More

मेरो कर्णाली सपना

सन् १९६३ को अगस्ट महिनामा मार्टिन लुथर किंग जुनियरले एक भाषणमा भनेका थिए – ‘आई ह्याव ए ड्रिम’। आजपर्यन्त अमेरिकी सिभिल राइट्स मुभमेन्टमा भएको उक्त भाषण संसारको सबैभन्दा सुन्दर भाषण मध्येमा दरिएको छ। उक्त सपनाले आजसम्म अमेरिकामा समानताको लडाइँलाई उद्वेलित गराउने र उर्जा थप्ने काम गरेको छ। आज तिनै मार्टिन लुथर किंगका शब्द र भावना […]

Read More

लोकसेवालाई ‘बाहुनसेवा’ जस्तो नबनाइयोस्

लोकसेवा आयोगको हालैको विज्ञापन ठूलो विवादमा परेको छ । विवादित हुनुको मुल कारण आरक्षणतर्फको सीट घट्नु हो । ठूलो संख्यामा (९ हजार १६१ सिटका लागि) विज्ञापन गरिँदा आरक्षणतर्फ थोरैमात्र सिट छुटयाइएको छ । विभिन्न समूहहरुमा विज्ञापन गरेको हुनाले सबै पद, सेवा, समूहमा आरक्षण हुन नसक्नु स्वाभाविक हो । कुनै समूहमा दुईटा, कुनैमा चारवटा मात्रै सिटमा […]

Read More