के ‘सदगुरु’ जग्गी वासुदेव नै हुन्?

सन् २०१९  डिसेम्बर २८ का दिन भारतका प्रख्यात ‘गुरु’ जग्गी वासुदेवको युट्युब च्यानलमा एउटा भिडिओ प्रकाशित भयो। शीर्षक थियो- सदगुरु अन सिटिजनशिप अमेन्डमेन्ट एक्ट एन्ड एनआरसी।

त्यसको दुई दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसाको पुल बाँध्दै वासुदेवको उक्त भिडिओ ट्विटरमा सेयर गरे-

झन्डै २२ मिनेटको भिडिओमा मोदी सरकारले ल्याएका नागरिकतासम्बन्धी कानुनहरूबारे वासुदेव भनाइको सार यस्तो छ-

नागरिकता संशोधन ऐन (सिएए) भारत सरकारले छिमेकी देशबाट धार्मिक हिंसामा परेर विस्थापित भएका मानिसहरूका लागि नागरिकताको बाटो खोल्ने परोपकारी कर्म हो। यो धेरै अगाडि आउनु पर्ने कानुन थियो किनकि हाम्रा छिमेकीहरूमा धार्मिक विभेद र हिंसा चर्को छ। यसबारे भएको दुष्प्रचार पत्याएका कारण मात्र मानिसहरू सडकमा आएका हुन्।

त्यस्तै आसाममा आइसकेको र अब देशभर आउने भनिएको एनआरसी (नेसनल रजिष्ट्री अफ सिटिजन्स) भनेको जुनसुकै देशले पनि गर्नुपर्ने नागरिकहरूको सामान्य अभिलेख हो। कुनै सहरहरूमा आउने कुकुरहरूको त अभिलेख हुन्छ भने देशले मान्छेको अभिलेख राख्नु सामान्य हो।

स्वभावतः उनको त्यो भिडिओ ‘भाइरल’ भयो र दसौं लाख मानिसले ती कानुनी प्रबन्धहरूबारे उनको कुरा पत्याए। तर अरू लाखौं मानिसले भारतभर ती कानुनको विरोधमा महिनौं प्रदर्शन गरिरहे।

दिल्लीको शहीन बागमा त महिलाहरूले महिनौंसम्म सडकमै निरन्तर धर्ना दिएर भारतको सत्ता संस्थापनलाई ठूलो चुनौती दिए। तिनलाई बदनाम गरेर निस्तेज गर्ने भारत सरकार र त्यहाँको मूलधारको मिडियाका कुनै पनि प्रयास सफल भएनन्।

आखिर दुईथरी अनपेक्षित घटनाक्रमले मात्रै भारतमा सिएए र एनआरसीविरोधी आन्दोलन रोकिन पुग्यो। 

एक, केही गरी प्रदर्शन रोक्न नसकेपछि सत्तारूढ भाजपाका केही नेताहरूले दिल्लीमा उत्तेजक भाषणहरू गरेर साम्प्रदायिक दंगा सुरू गराइदिए। २०२० फेब्रुअरीको अन्ततिर भीषण दंगाहरूमा ५० भन्दा बढी मानिसको मृत्यु भएपछि शान्तिपूर्ण प्रदर्शन कायम राख्न निकै कठिन भयो।

दुई, कोभिड महामारी सुरू भएपछि त्यसपछि बचेखुचेका प्रदर्शनहरू पनि प्रदर्शनकारीहरूले रोक्न बाध्य भए।

विशाल जनसंख्या भएको भारत जहिले पनि कुनै न कुनै विषयमा विवाद र बहस चलिरहने देश हो। तर पनि नागरिकता कानुनलाई लिएर त्यहाँ जस्तो विवाद र ध्रुवीकरण भयो, त्यो असामान्य रूपमा लामो र गहिरो थियो। र त्यसले भारत १९४७ मा परिकल्पना गरिएजस्तो बहुलतालाई सम्मान गर्ने धर्म निरपेक्ष देश रहिरहने कि पाकिस्तान वा साउदी अरबझैं नागरिकलाई धर्मको आधारमा व्यवहार गर्ने नयाँ व्यवस्थामा जाने भन्ने गम्भीर बौद्धिक, संवैधानिक र दार्शनिक प्रश्न समेत जोडिएको थियो त्यो विवादमा।

ती कानुनहरूबारे उल्लिखित भिडिओमा वासुदेवले जे भने, शाब्दिक अर्थका हिसाबले उनी ठिकै थिए। तर व्यवहारमा ती दुई कानुनले सिर्जना गरेका अवस्था निकै फरक थिए।

यो चित्रको बीस फुट अग्लो पर्खाल भारतको पहिलो र सबैभन्दा ठूलो खास किसिमको बन्दी गृहको वरिपरि बनेको छ। त्यसको उद्देश्य आसाममा सम्पन्न एनआरसीले अनागरिक ठहर्‍याएका १९ लाख मानिसमध्ये एकपल्टमा तीन हजारलाई थुन्नु हो।

सफेद झुट बोल्न माहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१९ को डिसेम्बरमा भारतमा यस्ता कुनै बन्दीगृह नभएको भने पनि आसामको गोलपारामा निर्माणाधीन उक्त बन्दीगृहको माथिको तस्वीर रोयटर्सका पत्रकारले त्यो वर्षको सेप्टेम्बरअगाडि नै खिचेका थिए।

भारतमा जग्गी वासुदेवले बचाउ गरेका सिएए–एनआरसी कानुनहरूको पारदर्शी प्रयोजन यस्तो थियो- सिएएमार्फत छिमेकी देशहरूबाट आएका गैर–मुस्लिम आप्रवासीहरूलाई नागरिकताको सुनिश्चितता गर्ने। एनआरसीमार्फत सन् २०१४ भन्दा अगाडि भारतमा बसोबास गरेको प्रमाण नहुने सबैलाई छुट्याएर अनागरिक बनाउने। त्यसपछि सबै गैर–मुस्लिम अनागरिकलाई सिएएले परिमार्जन गरेको कानुनमार्फत नागरिकता दिलाउने। बचेका मुस्लिम अनागरिकलाई धरपकड गरेर बन्दीगृहमा राख्ने र देश निकाला गर्ने।

यो मैले वा अरू कसैले लगाएको आरोप होइन, भाजपाका तत्कालीन अध्यक्ष अमित शाह लगायत उनको दलका धेरै नेताहरूले बारम्बार आम सभाहरूमा समेत भाषण गरेको कुरा हो।

भिडिओमा वासुदेव भन्छन्- केही बदमासहरूले यहीँका मुस्लिमहरूलाई भड्काइदिएका छन् कि तिमीहरूको नागरिकता खोसिन्छ भनेर, जबकि त्यस्तो कुरै होइन।

फेरि पनि सिद्धान्ततः उनी सही थिए। तर व्यवहारमा उनले चिप्लो अंग्रेजीमा ती कानुनहरूको प्रशंसा गरिरहेकै बेलामा उत्तर प्रदेशको प्रहरी मुस्लिम प्रदर्शनकारीहरूको घरघर पसेर आतंक मच्चाउँदै ‘तुम लोग एनआरसीके बाद पाकिस्तान जाओगे’ भनेर लल्कार्दै थियो। हिन्दुत्ववादीहरूले सडकदेखि सामाजिक सञ्जालसम्म त्यही लल्कार दिँदै थिए।

त्यसअगाडि नै सन् २०१६ मा मध्य प्रदेशमा रेलमा सवार आम हिन्दुहरूको भीडले सिटसम्बन्धी सामान्य विवादमा चार मुस्लिम किशोरहरूलाई ‘पाकिस्तान जाओ’ भन्दै निर्घात कुटपिट गरेको थियो। साथै भीडको कसैले ती चार जनामध्ये जुनैद खानलाई छुरा हानेर मारिदिएको थियो। केही हिन्दु उग्रवादीले त सन् २०१७ मा पहलु खान नामक विपन्न श्रमिकलाई आफूले विभत्स रूपमा मारेको भिडिओ सामाजिक सञ्जालमै हालेका थिए। अनि त्यो भिडिओमा उनलाई पिट्दै गरेका छ जनालाई पछि अदालतले सफाइ दिएर छाडिदिएको थियो।

अर्थात् जुन पृष्ठभूमिमा भारतमा ती दुई कानुन आउँदै थिए, त्यहाँ अल्पसंख्यकहरूलाई दोस्रो दर्जाका नागरिक बनाउने भारतीय सत्ता संस्थापनको प्रयास जोडतोडले चलिराखेकै थियो। उनीहरूले राज्यको कार्यकारी मात्र नभई प्रहरी प्रशासन र न्यायालयजस्ता राज्यका अंगहरूमा पनि भरोसा गुमाउँदै थिए।

त्यसैले सिएए–एनआरसी कानुनकै कारण भारतमा नागरिकता पाइसकेको कुनै मुसलमानलाई प्रत्यक्ष असर पर्ने होइन भन्ने वासुदेवको तर्क सिद्धान्ततः सही हुँदाहुँदै पनि राज्यप्रति उक्त समुदायको संशय पूरै जायज थियो। कानुनले सबै समुदायका नागरिकलाई समान ठान्दा त व्यवहारतः त्यत्रो विभेद छ भने कानुनमै नागरिकता दिँदा धर्मको आधारमा विभेद संस्थागत भयो भने के होला, मुस्लिम समुदायको भय यो थियो।

तर हरेक सातमध्ये एक जना हुन आउने भारतको मुस्लिम समुदायको अस्तित्वसित जोडिएको विषयलाई मजाकमा उडाउँदै वासुदेवले उक्त भिडि‌‌ओमा सडकमा निस्केका सबै समुदायका प्रदर्शनकारीलाई कानुन पढ्न नआउने ‘गँवार’ वा अरूको इशारामा चल्ने कठपुतलीहरूका रूपमा चित्रण गरेका छन्।

अनि त्यो भिडिओमा उनले अलिगढ मुस्लिम युनिभर्सिटी लगायतका ठाउँमा अन्धाधुन्ध दमनमा उत्रेको प्रहरीको बचाउमा जे भनेका छन्, त्यसमा त शाब्दिक अर्थका हिसाबले पनि सत्यता छैन।

भिडिओमा उनले एनआरसीलाई कुनै सहरले गरेको कुकुरहरूको अभिलेखसित तुलना गरेका छन्। उनको सामुन्नेमा रहेका सयौं मानिसहरू उनको वक्तृत्वकलाबाट मुग्ध भएका छन्। उनको हास्यचेतले मानिसहरूलाई गलल्ल हँसाएको पनि छ। तर त्यसको केही समयपछाडि आसामको एनआरसीले अनागरिक बनाएका १९ लाख मानिसहरूको बिचल्ली, भागदौड, बन्दीगृहको यात्रा, आत्महत्या र हठात लुटिएको लाखौं बालबालिकाहरूको भविष्यबारे उनले कहीँ कतै मुख खोलेका छैनन्।

आजका दिनसम्म आउँदा आसामका त्यस्ता बन्दीगृहहरू कति बदनाम भएका छन् भने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले तिनलाई हिटलरले यहुदीहरूको आमसंहार गर्नुअगाडि थुन्ने गरेका ‘कन्सन्ट्रेसन क्याम्प’ हरूसित तुलना गरेका छन्। त्यस्तो बदनामीबाट आजित भएको भाजपा सरकारले हालै तिनको नाम ‘डिटेन्सन सेन्टर’ बाट बदलेर ‘ट्रान्जिट क्याम्प’ राख्न बाध्य भएको छ।

यसरी वासुदेवले ‘नागरिकहरूको साधारण अभिलेख’ भनेर बचाउ गरेको एनआरसी भारतका २८ राज्य र ८ संघीय संरचनाहरूमध्ये एउटा मात्रै राज्यमा कार्यान्वयनमा आउँदा १९ लाख बढी मानिसहरू अनागरिक बनेका छन्। अनि सम्प्रदाय, धर्म वा नश्लका आधारमा नागरिकहरूबीच संस्थागत विभेद गर्ने भाजपा सरकारको त्यस्तो कदमलाई धेरैले बीसौं शताब्दीमा युरोपमा भएको फासीवाद र नाजीवादको अभ्याससित जोडेका छन्। हाल भारतको गृहमन्त्री रहेका भाजपाका पूर्वअध्यक्ष अमित शाहले घोषणा गरेझैं सिंगो देशमा एनआरसी कार्यान्वयन गर्ने हो भने के होला?

वासुदेव भन्छन् केही हुँदैन। तर व्यवहारतः त्यो अवस्थामा भारतका करोडौं नागरिकहरू अनागरिक बन्छन्। अहिले दसनंग्रा खियाएर जसोतसो ज्यान पालेका उनीहरू दशकौंसम्म गोलपाराका जस्तै जेलहरूमा बन्दी हुन्छन्। आत्महत्या, उपचारको अभाव वा काल गतिले उनीहरूको मृत्यु नहुन्जेल उनीहरूलाई पाल्ने भार फेरि नरेन्द्र मोदी वा जग्गी वासुदेवहरूले होइन, यसै गरीबी र अभावमा पिसिएका आम भारतीय करदाताहरूले नै बेहोर्नुपर्छ।

अमित शाहका कुरा मान्ने हो भने त उनीहरूलाई त्यसरी पाल्ने पनि होइन, देश निकाला गर्ने हो। तर कहाँ? कसरी?

स्वाभाविक रूपमा बंगलादेश वा अरू कुनै देशले त्यसरी शरणार्थी लिने सम्भावना नै छैन। त्यो अवस्थामा भाजपाको भारतले उनीहरूलाई कसरी निकाला गर्छ? ज्युँदै निकाल्न सकेन भने के गर्छ?

यसरी जग्गी वासुदेवले साधारण भनेर व्याख्या गरेको भारतको सिएए-एनआरसी कानुनले म लगायत भारत र अन्यत्रका धेरै विश्लेषकहरूलाई युरोपमा हुर्केको फासीवाद र नाजीवाद सम्झाएको हो।

जग्गी वासुदेवले धर्मगुरुको आसनबाट हालको भारतीय सत्ता संस्थापनको प्रवक्ताको स्तरमा झरेर अडान लिएका त्यस्ता अरू थुप्रै उदाहरणहरू भेटिन्छन्।

तीमध्ये उनको यो भनाइ हेरौं जहाँ उनले भारतका प्रखर विद्यार्थी नेता कन्हैया कुमार र उमर खालिदजस्ता सरकार र आफूभन्दा भिन्न मत राख्नेहरूलाई पूर्णतः निस्तेज पार्नुपर्ने तर्क गर्छन्-

याद गर्नुहोस्, यो भिडिओमा उनले चतुरतापूर्वक सरकारका विरोधीहरूलाई थुन्नुपर्छ वा दमन गरेर मार्नुपर्छ भन्ने शब्द प्रयोग गर्दैनन्। तर त्यस्तै अर्थ लाग्ने गरी भन्छन्- एज पर द ल, दे शुडनट बी वाकिङ द स्ट्रिट्स।… दिस इज द टाइम टु डिल विथ अल अफ देम।…सो वी मस्ट एक्ट फर सलुसन ..डिस्म्यान्टल द इन्फ्रास्ट्रक्चर…आदि।

भिन्न मत राख्ने, सरकारको विरोध गर्ने र सडकमा प्रदर्शन गर्नेहरूप्रति यति असहिष्णु रवैया अक्सर अधिनायकवादी देशहरूमा मात्रै देख्न पाइन्छ। भारतमै नरेन्द्र मोदीले बेलाबेला मुखले मात्रै भए पनि आफ्नो आलोचना हुनु स्वाभाविक हो भन्छन्।

त्यसमाथि दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरूमाथि भाजपा सरकारले गरेको दमनको पृष्ठभूमिमा वासुदेवले दिएको यस्तो अभिव्यक्ति थप अर्थपूर्ण छ। उक्त विश्वविद्यालयमा सन् २०१६ मा सत्तासम्बद्ध विद्यार्थी संगठन एबिभिपीका नौ जनाले सांघातिक हमला गरेको अर्को दिन बेपत्ता पारिएका विद्यार्थी नजिब अहमद आजका दिनसम्म बेपत्ता छन्।

लोकतन्त्रमा स्वाभाविक रूपमा हुने अनेक खाले वादविवाद र तर्कवितर्कमा जब वासुदेव जस्ता मानिसहरूले अर्को पक्षलाई सिध्याउनु पर्ने आशयसहित ‘वी मस्ट एक्ट फर सलुसन’ भन्छन्, त्यसले नाजी जर्मनीको ‘डि एन्टलोजाँ’ वा ‘फाइनल सलुसन’ को नारालाई सम्झाउँछ। जसको अर्थ हुन्थ्यो युहदीहरूलाई सखाप पारेर कथित ‘यहुदी समस्या’ को समाधान गर्नु।

उसो त जर्मनीमा हिटलरले मच्चाएको नरसंहार वा ‘होलोकास्ट’ बारे वासुदेव के भन्छन्?

डिएनए इन्डिया नामक वेबसाइटलाई उनले दिएको अन्तर्वार्ताको यो हिस्सा हेरौंः

प्रश्न: That’s just mindless relativism. Take the Holocaust. Are there two ways of looking at it — whether it was just or unjust?

वासुदेव: Of course, I am not questioning that. All I am saying is this: the Holocaust business and the way you are looking at it, is only because the Germans lost the war. If they had won the war, you would have been very much with Hitler. But because he lost the war, and is a failure, you are now with the Jews. Suppose Hitler had eliminated the Jews and set up the super-empire he was dreaming of, your idea of justice would have changed completely. In fact, this is exactly what has happened in different ways in different parts of the world — whole cultures have been erased, you know about them, I don’t have to tell you — but you don’t think of it as a holocaust, do you?

प्रश्न: But does this absolve an individual of the moral responsibility to act in the face of social injustice?

वासुदेव: It doesn’t. But I am asking you, wherever people have done similar things [like the Holocaust] successfully, and they won the wars and rewrote history the way they wanted, there you are with them, aren’t you? What I am saying is, the moment you think somebody should happen the way you want them to, you are a potential Hitler, and I would like to stop you right here before you become capable like him; before you become organized like him or create a Nazi party around yourself. So you can say that my work is about taking preventive action on all the potential Hitlers.

यी दुई प्रश्नको जवाफमा वासुदेवले जे भन्छन् त्यसमा उनले बोकेको सिंगो जीवन दर्शनको असाध्य सटिक सार भेटिन्छ।

जस्तो कि दोस्रो जवाफको अन्तमा उनी भन्छन्- मेरो काम भनेको सम्भावित हिटलरहरू जन्मिनबाट रोक्नु हो। अर्थात् उनी मानव जातिमाथि आउन सक्ने ठूलो संकट (नयाँ हिटलरहरूको जन्म) का मोचक हुन्।

तर हिटलर आफैंमा सही वा गलत के थिए? उनले न्याय गरेका थिए कि अन्याय? यी प्रश्नको जवाफ छल्दै उनी भन्छन्- हिटलरले दोस्रो विश्वयुद्धमा हारे, उनका शत्रुले इतिहास लेखे, त्यसैले सबैले उनलाई गलत देख्छन्। यदि त्यो महायुद्ध नाजी जर्मनीले जितेको भए इतिहास अहिलेको भन्दा उल्टो लेखिने थियो र हिटलर गलत मानिने थिएनन्।

हार वा जीतको सापेक्षमा नराख्ने हो भने हिटलरले गरेका भयावह नरसंहारहरू सही थिए कि थिएनन्? आम मानिसले सहजै उत्तर दिने यो प्रश्नको जवाफ तर्काउँदै उनी प्रतिप्रश्न गर्छन्- हिटलरले झैं मान्छे मार्ने तर युद्ध जितेर आफैं इतिहास लेख्ने अरूका कर्मलाई त तिमीले ‘होलोकास्ट’ भन्दैनौ त? 

‘हार वा जीत जे भए पनि निहत्था मानिसहरूको हत्या खराब हो’ भन्न उनले सक्दैनन्।

हिटलर र उनको नरसंहारबारे वासुदेवका यी विचारपछि भारतको हिन्दुत्व अभियानको नाजीवाद र फासीवादसितको सम्बन्धलाई हेरौं। त्यसपछि उनले किन यति सहजतापूर्वक भारतको उग्र धार्मिक दक्षिणपन्थी सत्ता संस्थापनको पैरवी गर्छन् भन्ने प्रस्ट हुन्छ।

सन् १९३८ मा संसार दोस्रो विश्वयुद्धको संघारमा थियो। भारतमा हिन्दु राष्ट्रवादका पिता मानिने भि. डि. सावरकरले त्यो वर्षको अगस्टमा पुनेमा २० हजारको सभालाई सम्बोधन गर्दै इटलीको फासीवाद र जर्मनीको नाजीवादको खुलेर प्रशंसा गरेका थिए।

उनले त्यो विषयमा आफ्नो विचार अझ प्रस्ट पार्दै लेखेका छन्- नाजी जर्मनीले ‘यहुदी समस्या’ लाई जसरी समाधान गर्‍यो, भारतले पनि यहाँको ‘मुसलमान समस्या’ लाई त्यसै गरी समाधान गर्नुपर्छ।

सन् २०१७ मा सावरकरको मृत्यु दिवसमा उनको प्रशंसा गर्दै भारतका प्रधानमन्त्री मोदीले लेखेका थिए- उनी असली देशभक्त थिए जसले बलियो र विकसित भारतको कल्पना गरेका थिए।

यति पढेपछि सहजै कल्पना गर्न सकिन्छ सावरकरले कल्पना गरेको र मोदीले अनुमोदन गरेको बलियो र विकसित भारतमा त्यहाँको दोस्रो ठूलो धार्मिक समुदायको हैसियत के होला।

उसो त एसियाका फासीवादीहरूले मात्रै प्रेरणाका लागि युरोपतिर हेर्दैनथे, दुवै ठाउँका फासीवादीहरूबीच सहकार्य र प्रेरणा आदानप्रदानका प्रशस्त उदाहरणहरू छन्।

फ्रान्समा म्याक्सिमानी पोर्टासका रूपमा जन्मेर पछि सावित्री देवी बनेकी नाजीवादकी समर्थक र नाजीवादी जर्मनीकी जासुसले हिटलरलाई भगवान विष्णुको अवतार मान्थिन्। 

सन् २०११ मा नर्वेमा ७७ जना मानिसको सामूहिक हत्या गर्ने उग्र दक्षिणपन्थी आतंकवादी एन्डर्स ब्रेभिकले आफ्नो ‘घोषणापत्र’ मा लेखेका थिए

The only positive thing about the Hindu right wing is that they dominate the streets. They do not tolerate the current injustice and often riot and attack Muslims when things get out of control, usually after the Muslims disrespect and degrade Hinduism too much. India will continue to wither and die unless the Indian nationalists consolidate properly and strike to win. It is essential that the European and Indian resistance movements learn from each other and cooperate as much as possible. Our goals are more or less identical.

अर्थात् भारत र युरोपका उग्र दक्षिणपन्थी र फासीवादी शक्तिहरूबीचको वैचारिक समानता वा सहकार्य प्राज्ञिक महत्वको विषय मात्र रहेन। यी विषयमा मानिसहरू कसरी दीक्षित हुन्छन् र विचार बनाउँछन् भन्ने कुराको महत्व वैचारिक बहसमा सीमित नभई सामूहिक हिंसाको आह्वान र कार्यान्वयन गर्ने हदसम्म पुगिसकेको छ। न्युजिल्यान्डदेखि युरोप र अमेरिकासम्मका उग्र दक्षिणपन्थीहरू जुन वैचारिकी हुँदै उग्र इस्लामद्वेषी हिंसासम्म पुगेका छन्, त्यही वैचारिकी आज नरेन्द्र मोदीको भारतमा तीव्र रूपमा मौलाउँदो छ।

आजको भारतमा एकातिर यति नरसिंहानन्द सरस्वती र आनन्द स्वरूपजस्ता केही व्यक्तिहरूले खुलेआम अर्को समुदायविरूद्ध युद्धको आह्वान गरिरहेका छन्। अर्कातिर जग्गी वासुदेवजस्ता ‘बौद्धिक’ हरूले त्यो आह्वानपछिको वैचारिकीलाई चिप्लो भाषामा ‘प्याक’ गरेर संसारभरका करोडौं मानिसहरूसम्म बेचेका छन्।

यो विषयमा यति भनिसकेपछि दुइटा प्रश्न उठ्न सक्छन्।

एउटा, भारतका अनेक बाबा र धर्मगुरुहरूमध्ये एकको बारेमा हामीले किन यति धेरै चासो राखेर बहस गर्नुपर्‍यो?

अर्को, संसारभर लाखौं प्रशंसकहरू भएका र तीमध्ये धेरैलाई मार्गदर्शन गरेका, तिनको जीवनमा धेरै सकारात्मक परिवर्तन ल्याएका व्यक्तिका केही कमजोरी वा अवगुण छन् नै भने पनि तिनको मात्रै चर्चा किन?

भारतका गनेर नसकिने बाबाहरूमध्ये जग्गी वासुदेव नेपालमा चर्चा लायक किन छन् भने यहाँ उनको प्रभाव बढ्दो छ। केही महिनाअगाडि हाम्रा ठूला नेताहरूले उनको खुलेर प्रशंसा गरेका थिए। केही समयअगाडि ‘माटो बचाऔं’ भन्ने अभियानका लागि भनेर उनी काठमाडौं आएका थिए। त्यस क्रममा उनीसित फोटो खिचाउने सेलेब्रेटीहरूमध्ये तिनै ठूला नेताहरू थिए। जब देशलाई साम्यवादमा लैजाने भनेर सशस्त्र युद्ध चलाएकाहरू फासीवादी विचारतिर लहसिन्छन्, त्यो खतरनाक समयको लक्षण हो।

त्यस अगाडिदेखि नै पनि उनका पुस्तक र युट्युब भिडिओहरूको लोकप्रियता नेपालमा राम्रै छ। त्यसैले उनी को र के हुन् भन्ने प्रश्नको जवाफ खोज्न सके उनले हाम्रो समाजमा कस्तो प्रभाव छाड्छन् भन्ने पनि बुझ्न सकिन्छ।

अब रह्यो उनका एकाध भिडिओबाट कमजोरीका बुँदा टिपेर उनको समग्र कीर्तिमाथि प्रश्न उठाउन पाइन्छ त भन्ने प्रश्न।

त्यससँगै मैले कुन अभीष्टका साथ जग्गी वासुदेवको यस्तो आलोचना गर्छु भन्ने प्रश्न स्वभावतः उठ्छ।

नेपालका अधिकांश मध्यम वर्गका युवाझैं म पनि मनको शान्तिको खोजीमा रहेको अधिर प्राणी हुँ। झन्डै पाँच वर्षअगाडि वासुदेवको ‘इनर इञ्जिनियरिङ’ किताब मोटामोटी छिचोलेपछि मैले युट्युबमा उनका भिडिओहरू हेर्न सुरू गरेको हुँ।

बीसौं घन्टा उनका कुरा सुन्दा तिनमा मैले धेरै रोचक र सुनिरहुँजस्ता कुराहरू भेटेँ। उनको अंग्रेजी भाषामा पकड र हास्यचेतको त म अहिले पनि प्रशंसक हुँ।

तर बिस्तारै मैले उनका कुराहरूमा एउटा ‘प्याटर्न’ महसुस गरेँ जसका केही आयामहरू थिए।

जस्तो कि, भारतको सत्ता संस्थापनको जुनसुकै मूल्यमा बचाउ गर्ने। धर्महरूको तुलना गर्दा हिन्दु धर्मको सर्वोच्चता दाबी गर्ने, विभेदकारी र महिलाद्वेषी कर्मकाण्डहरूको बचाउ गर्ने। जतिसुकै जटिल समस्याको पनि सरल र सपाट उत्तर दिने, जटिलताभित्र प्रवेशै नगर्ने। यावत् विषयहरूमा आफ्ना दाबी पुष्टि गर्न सत्य, अर्ध–सत्य र भ्रमको एक नासले प्रयोग गर्ने। आफ्नो दाबी जति अपत्यारिलो हुन्छ, उति नै कुनै आधार नदिइ ‘यसको विज्ञानले पुष्टि गरिसक्यो’ भन्ने। आलोचनाको तथ्यपरक प्रतिवाद गर्नेभन्दा आलोचकमाथि आक्रामक बन्ने।

त्यस्तो महसुस भएपछि मैले नियमित उनका भिडिओहरू सुन्न छाडेँ तर भारतमा उनीबारे भइरहेको मिडिया कभरेजलाई निरन्तर नियालिरहेँ। ‘र्‍याली फर रिभर्स’ जस्ता उनीसम्बद्ध विवादास्पद विषयहरूलाई निरन्तर पछ्याएँ। त्यहाँको नागरिकता कानुनबारे उनको वक्तव्यलाई त धेरै पल्ट सुनेँ। उनका समर्थक र आलोचकका कुराहरू पढेँ, सुनेँ।

उनीबारे केही लेख्नुपर्छ भन्ने लागेपछि मैले फेरि उनका नयाँ भिडिओहरू हेरेको छु। मैले उनलाई नियमित सुन्न छाडेका यी वर्षहरूमा उनले आफ्नो वक्तृत्वकलालाई अझै माझेका छन् तर अरू सुधार खासै देखिँदैन। अहिले पनि उनका कुरा सुन्दा लाग्छ, संसारमा सोधिन सक्ने सबै प्रश्नको जवाफ उनीसित छ अनि वातावरणीय विनाशदेखि युद्ध रोक्नेसम्मको सूत्र पनि उनैसँग छन्। तर ती भ्रम कायम गर्न उनले जेजस्ता तर्कहरूको जालो बुनेका छन्, तिनमा केही गम्भीर खोट देखिन्छन्। 

जस्तो कि, उनले विज्ञानकै बदनाम हुने गरी छद्मविज्ञान फैलाउँदै पानीका बारेमा घन्टौं प्रवचन दिएका छन्।

यो भिडिओमा उनी भन्छन्, कथित ‘वाटर इम्प्लोडिङ मेसिन’ प्रयोग गर्ने हो भने सिँचाइका लागि अन्यथा दस भाग प्रयोग हुने बालीका लागि एक भाग पानी मात्र प्रयोग गरे उत्तिकै उब्जनी हुन्छ।

पानीको रासायनिक चरित्रबारे उनको व्याख्या विज्ञानका विद्यार्थीहरूलाई कमेडीजस्तो लागे पनि त्यसलाई गम्भीर रूपमा लिने मान्छेहरूको संख्या ठूलो छ। त्यसले मानिसहरूलाई मूर्ख बनाएर भ्रम त सिर्जना गर्छ नै, यस्तै छद्मविज्ञानमा आधारित उत्पादनहरू बेचेर डलरमा खर्बपति हुने युरोपेली र अमेरिकी उग्र दक्षिणपन्थी गुरुहरूको संख्या निकै ठूलो छ।

त्यस्तै कुनै तात्विक कुरा नभनी कसरी मानिसहरूलाई घन्टौं रनभुल्ल पार्ने भन्ने सीप सिक्न उनको यो भिडिओ हेर्न सकिन्छ जहाँ उनले हाल चलिरहेको रूस-युक्रेन युद्धजस्तो जटिल सामरिक, भूराजनीतिक र आर्थिक समस्याको एक हरफको सरल उत्तर दिन्छन्। तर त्यसको अघिपछि आफ्नै महिमा मण्डन गर्न हजार बढी शब्द खर्चिन्छन्।

अन्तमा, भारतको वर्तमान सत्ता संस्थापनको प्रवर्द्धनलाई छाडेर उनको जीवन दर्शनका अरू जति सैद्धान्तिक पाटा छन्, त्यो अलग्गै निबन्धको विषय बन्न सक्छ। यहाँ चाहिँ यो लेखको निचोडका लागि हामीले सोध्नुपर्ने दुई महत्वपूर्ण प्रश्न छन्।

एक, चरम ध्रुवीकरणको यो समयमा मानिसले आफूलाई मन नपर्ने व्यक्ति वा संस्थाको आलोचना गर्नुको सट्टा सिधै हिटलर, अतिवादी वा फासीवादी भनेर निन्दा गर्ने अभ्यास बढ्दो छ। भारतमा नरेन्द्र मोदीले भारी बहुमतसहित दुइटा चुनाव जितेर शासन गरिरहेका छन्। त्यसैले उनी र उनका समर्थकहरूमाथि लाग्ने गरेको फासीवादको आरोप कतै कोरा राजनीतिक प्रतिशोधको उपज त होइन? भारतदेखि पाकिस्तानसम्मका उनका विरोधीहरूले आरोप लगाएकै आधारमा हामीजस्ता भारतीय राजनीतिमा प्रत्यक्ष सरोकार नभएका मानिसहरूले उनलाई कसरी फासीवादी भन्न मिल्छ?

यो प्रश्नको जवाफ भारतका प्रख्यात विचारक तथा मनोविज्ञ आशिष नन्दीले सन् २००२ मै दिइसकेका छन्। सन् १९९२ मा सत्तामै नपुगेको भाजपामा राजनीतिक भूमिका खोजिरहेका नरेन्द्र मोदीसित अन्तर्वार्ता लिएपछि उनले लेखेका छन्-

More than a decade ago, when Narendra Modi was a nobody, a small-time RSS pracharak trying to make it as a small-time BJP functionary, I had the privilege of interviewing him along with Achyut Yagnik, whom Modi could not fortunately recognize. (Fortunately, because he knew Yagnik by name and was to later make some snide comments about his activities and columns.) It was a long, rambling interview, but it left me in no doubt that here was a classic, clinical case of a fascist. I never use the term ‘fascist’ as a term of abuse; to me, it is a diagnostic category comprising not only one’s ideological posture but also the personality traits and motivational patterns contextualizing the ideology.

Modi, it gives me no pleasure to tell the readers, met virtually all the criteria that psychiatrists, psychoanalysts, and psychologists had set up after years of empirical work on the authoritarian personality. He had the same mix of puritanical rigidity, narrowing of emotional life, massive use of the ego defense of projection, denial, and fear of his own passions combined with fantasies of violence – all set within the matrix of clear paranoid and obsessive personality traits. I still remember the cool, measured tone in which he elaborated a theory of cosmic conspiracy against India that painted every Muslim as a suspected traitor and a potential terrorist. I came out of the interview shaken and told Yagnik that, for the first time, I had met a textbook case of a fascist and a prospective killer, perhaps even a future mass murderer.

अर्को प्रश्न, जग्गी वासुदेव भारतको आजको सत्ता संस्थापनको फासीवादी वैचारिकी र व्यवहारका बढीमा प्रवर्द्धक र कम्तीमा पनि ‘अपोलोजिस्ट’ हुन् नै भने पनि उनले सिकाउने सास फेर्ने विधि, योग वा उनका नदी बचाउने वा माटो बचाउने अभियानहरूको सराहना गर्नु वा तिनमा सहभागी हुनुमा के नै खराबी छ र? उनका कुरा सुनेर वा उनीसित कुनै सशुल्क कोर्स गरेर कसैले आफ्नो जीवनमा राम्रो परिवर्तन ल्याउन सक्छ भने त्यसमा खराबी नै के छ?

उनको सिकाइ वा प्रेरणाका कारण तपाईंको जीवनमा सकारात्मक परिवर्तन भएको छ भने उनीप्रति तपाईं आकर्षित हुनु स्वाभाविकै हो। तर त्यो आकर्षण सम्मोहन वा अन्धभक्तिको हदसम्म नपुगोस्, उनले भनेका कुराहरूको गुण र दोष खुट्याउने तपाईंको सचेत प्रयास उनको छलपूर्ण वाकपटुताका कारण निस्तेज नहोस्! 

मेरो भन्नु यत्ति हो।

जहाँसम्म माटो बचाउनेजस्ता उनका महत्वाकांक्षी योजनाहरूको कुरा छ, उनले नदी बचाउने अभियानका क्रममा उठेका अनेक विवाद र त्यो अभियानको दयनीय नतिजा हेर्दा म उनको अभियानको प्रभावकारिताबारे पटक्कै आश्वस्त छैन। 

अनि रूस–युक्रेन युद्धजस्ता जटिल समस्याका लागि उनले पस्केका सरल समाधानहरूको कुरा छ, ती हाम्रोजस्तो विश्वका लागि कपासको भोजनजस्ता हुन्- पेट भरिन सक्ने तर पोषण नदिने।

केही नभनी बीसौं मिनेटसम्म मानिसहरूलाई मुग्ध र रनभुल्ल पारेर कसरी बोल्ने वा फरक विचार राख्नेहरूलाई ‘मार’ वा ‘थुन’ नभनीकन त्यही आशय कसरी प्रकट गर्ने भन्ने भाषिक जालझेल सिकाइका लागि चाहिँ आदर्श गुरु नै हुन् जग्गी वासुदेव। 

मेरो विचारमा व्यक्तिलाई सदगुरु बनाउन भने त्यति गुणले पुग्दैन।

सेतोपाटीबाट साभार गरिएको हो।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कहिल्यै आएन आमाहरूलाई दसैं

बाल्यकालमा दसैं सधैं रमाइलो भयो। स्कुल बिदा हुने। नयाँ कपडा, मीठो खानेकुरा र पिङ खेल्न पाइने। मामाघर गएर दक्षिणा पाइने। पाहुनाहरूले ल्याएको ठाउँ-ठाउँको कोसेली खान पाइने। तर अचेल दसैं लगायत चाडपर्वका बेला आफ्नी आमा र अरू आमाहरूको भोगाइ देखेर कहाली लागेर आउँछ। चाडपर्वमा घरमा रमझम बढ्छ। घरको सबै लुगाफाटो धुने। सबै भित्ता र भुइँ लिपपोत गर्ने। साना […]

Read More

मेरो कर्णाली सपना

सन् १९६३ को अगस्ट महिनामा मार्टिन लुथर किंग जुनियरले एक भाषणमा भनेका थिए – ‘आई ह्याव ए ड्रिम’। आजपर्यन्त अमेरिकी सिभिल राइट्स मुभमेन्टमा भएको उक्त भाषण संसारको सबैभन्दा सुन्दर भाषण मध्येमा दरिएको छ। उक्त सपनाले आजसम्म अमेरिकामा समानताको लडाइँलाई उद्वेलित गराउने र उर्जा थप्ने काम गरेको छ। आज तिनै मार्टिन लुथर किंगका शब्द र भावना […]

Read More

लोकसेवालाई ‘बाहुनसेवा’ जस्तो नबनाइयोस्

लोकसेवा आयोगको हालैको विज्ञापन ठूलो विवादमा परेको छ । विवादित हुनुको मुल कारण आरक्षणतर्फको सीट घट्नु हो । ठूलो संख्यामा (९ हजार १६१ सिटका लागि) विज्ञापन गरिँदा आरक्षणतर्फ थोरैमात्र सिट छुटयाइएको छ । विभिन्न समूहहरुमा विज्ञापन गरेको हुनाले सबै पद, सेवा, समूहमा आरक्षण हुन नसक्नु स्वाभाविक हो । कुनै समूहमा दुईटा, कुनैमा चारवटा मात्रै सिटमा […]

Read More