ज्वरोले आलसतालस परेर बिछ्यौनामा पल्टिरहेका बेला म आँखा चिम्म गरेरै प्रश्न सोध्छु- मान्छेलाई रोग किन लाग्छ होला?
प्रश्न छेउको कुर्सीमा बसेको एक जना मानिसलाई थियो जो म बिरामी परेँ भनेर मलाई भेट्न आएको थियो।
अझ वास्तविक कुरा भन्छु। यो मान्छेलाई म आफैंले बिरामी परेपछि भेटौंभेटौं लागेर ‘मलाई भेट्न आउनुस्’ भनेर बोलाउन लगाएको हुँ।
के तपाईंलाई यस्तो भएको छ? बिरामी पर्दा कसैलाई भेट्ने तीव्र इच्छा। बिरामी पर्दा यो मान्छेलाई चाहिँ मैले जसरी पनि भेट्नुपर्छ भन्ने सन्देश मेरो अन्तर्मनले दिइरहेको थियो। यो मेरा लागि पहिलो अनुभव थियो। सायद डेंगी ज्वरोले म पहिलोपटक यति नराम्रोसँग थलिएको थिएँ।
छेउमा बसेको मानिस तपाईंले सोचेभन्दा बढी शालीन र नम्र छ। तपाईं र मैले जस्तो उसले स्कुल र कलेज धाएर, किताबका ठेली भ्याएर औपचारिक शिक्षा लिएको छैन। हुन त मान्छे सभ्य र नम्र हुन पढेको हुनुपर्छ भन्ने सोचाइ गलत हो। डिग्रीधारी मानिसहरू नै बढी जटिल र कुटिल भएका उदाहरण आफैंले कति भटेको छु।
मान्छेलाई रोग किन लाग्छ भन्ने अघिको प्रश्नमा छेउमा बसेको मान्छे उत्तर दिन्छ- खै, म त के जान्दछु र तपाईंभन्दा? मान्छेको दिनदशा बिग्रेपछि रोग लाग्छ कि?
छेउमा बसेको मान्छे उत्तरको सुरूआत नै ‘खै म त के जान्दछु र’ बाट गर्छ।
आजकलको समयमा मान्छेलाई नआउने कुरा के छ र? सिकाउन र बुझाउन गुगल र युट्युब हातहातमा छन्। मलाई केही कुरा आउँदैन भन्न सक्नु पनि खासमा मान्छेको गुण हो। चारैतिरबाट ‘ज्ञानवर्षा’ भइरहेको आजको यो समयमा ‘मलाई आउँदैन’ भनेर थाहा पाउनु पनि एक तहको तत्त्वबोध नै हो।
मान्छेको दिनदशा बिग्रेको भनेको के हो?
म पुनः आँखा चिम्म गरीगरी छेउ बसेको मानिसलाई प्रतिप्रश्न गर्छु- दिनदशा बिग्रेको भन्नाले तपाईंको समय खराब चलेको। मान्छेको समय सधैं एकैनास कहाँ चल्छ र? छेउको मानिस सरल भाषामा आफ्नो कुरा राख्ने प्रयास गर्छ। म अझ कोट्याउन खोज्छु। मान्छेले घमन्ड गर्यो भने समय खराब चल्न थाल्छ र बिरामी पर्छ। यस्तो हो?
यसपालि मेरो यो प्रश्नको जवाफ छिट्टो आउँदैन। म आँखा खोल्छु र छेउको मानिसलाई हेर्छु। गोलो कुर्सीमा बसेको मानिस मुसुमुसु हाँसिरहेको छ। आँखा खोल्दा मेरो टाउको भारी हुन्छ र आँखाका गेडी फुट्लाझैं गरी दुख्छ।
म फेरि आँखा चिम्लिन्छु। छेउको मानिस मेरो हालत देखेर चिन्तित छ।
‘मान्छेले घमन्ड गर्यो भने बिरामी पर्छ हो?’ मैले पुनः अघि सोधेको प्रश्न सोधेँ।
‘खै, म धेरै त बुझ्दिनँ। तर मानिसले प्रकृतिसँग जोरी खोज्यो भने, घमन्ड गर्यो भने रोगब्याध फैलिन्छ अनि मानिस बिरामी पर्छ,’ छेउमा बसेको मानिसको यस्तो जवाफ सुनेर म पुनः एकपटक उसको अनुहार हेर्छु।
यसपालि उसको अनुहारमा अघिजस्तो मुस्कान छैन। लाग्छ ऊ मेरो यस्तो अवस्था देखेर धेरै नै चिन्तित छ।
डेंगी ज्वरोले छोएको तेस्रो दिन म छेउमा बसेको मानिससँग एक भिन्न वार्तालापमा थिएँ। मेरो समय कसरी खराब चल्यो भनेर दुई-चार कुराहरू तपाईंलाई सुनाउँछु।
केही महिनाको तराई बसाइपछि म पुनः मेरो कार्यथलो पाटन अस्पताल फर्केको थिएँ। तराईको गर्मीबाट यता फर्केपछि निकै राहत महसुस गरिराखेको थिएँ। तर तराईबाट फर्केपछि किनकिन मलाई काठमाडौंको हावापानी निकै फरक रहेको महसुस भइराखेको थियो। काठमाडौंमा दैनिकजसो एकझर पानी परिराखेको थियो, जुन यो मौसमका लागि निक्कै अस्वाभाविक थियो। फोहोर व्यवस्थापनको समस्याले सगरमाथाको उचाइ लिएको थियो। यस्तैयस्तै कारणले तराई बसेर काठमाडौं फर्किँदा मलाई त्यति सहजता महसुस हुन सकिराखेको थिएन जति मैले सोचेको थिएँ।
पाटन अस्पतालमा मेरो ड्युटी स्टेसन इमर्जेन्सी विभाग हो। एमडी अध्ययनको सिलसिलामा पाटन अस्पतालमा तीन वर्ष बित्न लागे। विगतका वर्षहरूझैं यो वर्ष पनि इमर्जेन्सीमा निक्कै भीडभाड बढेको छ। गर्मी मौसम यसै पनि अस्पतालको इमर्जेन्सी भीडभाड हुने समय हो। तर यसपालि अरू वर्षभन्दा इमर्जेन्सीमा बिरामीको चाप अत्यधिक मात्रामा बढेको अनुभव भइराखेको छ। ड्युटीमा खट्ने डाक्टर-नर्सलाई बिरामीको चाप धान्न हम्मेहम्मे परिराखेको अवस्था छ।
यसपालि इमर्जेन्सीमा बिरामीको चाप धेरै बढ्नुको कारण काठमाडौंमा अत्यधिक फैलिरहेको डेंगी संक्रमण हो। कतिले यो रोगलाई ‘डेंगु’ पनि भन्छन्। डेंगी भनौं वा डेंगु, यो रोगले बिरामीलाई दिने सास्तीको कुरा गरी साध्य छैन।
करिब दस दिन अगाडिको त्यो समय मलाई अझै याद छ। त्यो दिन इमर्जेन्सीमा मेरो दिउँसोको ड्युटी पालो थियो। काम सकेर घर पुग्दा राति १० बज्ने पक्का पक्की थियो। मैले यसो भोलिपल्टको ड्युटी तालिका हेरेको थिएँ। भोलिपल्ट बिहान ८ बजे नै ड्युटी आउनु थियो। यस्तो खालको ड्युटी निक्कै कष्टप्रद हुन्छ। घर लगभग लज-होटल जस्तो हुन्छ। खान पुग्यो, सुत्न पुग्यो फेरि दौडेर अस्पताल आयो।
मैले त्यो रात ड्युटी सकेर घर नजाने र अस्पतालमै बस्ने निर्णय गरेँ। राति आफ्नो ड्युटी सकेर करिब १० बजेतिर पाटन अस्पताल पारि खाना खाने मेरो योजना थियो। खाना खान के निस्केको थिएँ, काठमाडौंको बेमौसमी पानी बेस्मारी पर्न थाल्यो। मसँग छाता थिएन र भिज्नु उचित होइन सोच्दै म गेटभित्र ओत लागेर उभिएको थिएँ। सँगै एमडी गरिराखेको एक जना साथी छाता ओढेर आइरहेको देखेँ। ऊ खाना खाएर आएको रहेछ। मैले छाता पैंचो मागे र खाना खान बाटोपारि लागेँ।
एउटा अचम्मको कुरा भन्छु। राति १० बजेपछि पाटन अस्पताल वरिपरि तपाईंलाई खाना खानु पर्यो भने गाह्रो पर्छ। अस्पताल आसपासका खाना खाने ठाउँहरूमा १० बजेपछि प्रायः ढामढुम ढोका लागेका हुन्छन्। ढोका लगाउन प्रशासन टोली साइरन बजाउँदै आउँछ। यो नियम कसले, किन लगायो, बुझ्न कठिन छ।
कुरा के भने, राति १० बजेपछि तपाईं पाटन अस्पताल वरिपरि हुनुहुन्छ भने तपाईंलाई भोक लाग्न मनाही छ। २४ घन्टा चल्ने अस्पताल आसपास यस्तो अवस्थालाई ‘बिग्रेको देशको भत्केको चाल’ भन्दा फरक नपर्ला। मैले जसोतसो बन्द हुनै लागेको एउटा रेस्टुरेन्ट पुगेर खाना खाएँ। खाना गतिलो थिएन तर मसँग उपाय थिएन।
खाना खाएर फर्किएँ। ड्युटी रूमको सानो बेडमा पल्टिएँ। रातको करिब १२ बजेको थियो। एकछिनपछि मलाई अघि छाता दिने साथी उसको काम सकेर आयो र डङरङ्ग छेउको खाटमा पल्टियो। म निदाएको थिइनँ। बाहिर अझ बेतोडले पानी परिरहेको थियो। छेउमा पल्टिएको साथीसँग आउँदै गरेको जाँचको कुरा गर्न थालेँ। ड्युटीले गर्दा पढाइ लगभग गोलीमार अवस्थामा रहेको उसले सुनायो।
हालत मेरो पनि उस्तै थियो। मैले थेसिस लेख्न गाह्रो भएको कुरा सुनाएँ। हुन पनि साहित्य लेखनमा थोरबहुत अभिरूचि, थेसिस लेखन मेरा लागि महाभारततूल्य भएको थियो। गफ गर्दागर्दै थकाइले चुर भएको साथी बोल्न छाड्यो। बोल्न मात्रै छाडेको होइन, अब ऊ घुर्न थाल्यो।
म भने निदाउन सकिराखेको थिइनँ। फेरि छेउमा साक्षात बाघरूपी गर्जन गरिराखेको साथीको घुराइले मेरो रात अनिँदो रहने निश्चित थियो। तै पनि मैले निदाउने प्रयास जारी राखेको थिएँ। एकैछिन निदाएछु। मोबाइलमा अघिल्लो दिन राखेको अलार्म बन्द गर्न बिर्सेको रहेछु। बिहान ६ बजे नै मेरो निद्रा भंग भयो। यो उठाइ अरू दिनभन्दा असामान्य थियो। मलाई मेरो जीउबाट अत्यन्त धेरै ताप प्रसारित भइरहको महसुस भयो। जीउ कटकट दुखिराखेको थियो। किनकिन मनमा लाग्यो- म बिरामी परेँ।
ढुन्मुनिँदै उठेर बाथरूम गएँ र मुख धोएँ। आँखा लाल-लाल थिए। मलाई उच्च ज्वरो आइरहेको थियो। मैले विचार गरेँ- बाटोपारि गएर एक कप तातो चिया खान्छु र त्योभन्दा अगाडि दुइटा सिटामोल किनेर निल्छु।
बिहानीपख, बाटोपारिको औषधि पसलमा दुइटा सिटामोल मागेँ।
पसलेको जवाफ आयो- सादा पारासिटामोल त छैन, अरू औषधि मिसिएको वाला छ, दिऊँ?
मलाई एकछिन झोँक चल्यो। सिटामोल नपाउने कस्तो फार्मेसी?
मैले वरपरका अरू दुई फार्मेसीमा सोधेँ। सबको जवाफ उही। सादा सिटामोल छैन, अरू औषधि मिसिएको छ, लग्नु हुन्छ?
ज्वरोले निस्लोट अवस्थामा पुगेका बेला एउटा सिटामोल किन्न नपाउँदा मलाई एउटा नमीठो सोचले नराम्ररी चिमोट्यो- थुक्क ! यो बस्ने देश त हुँदै होइन!
मलाई झल्याँस्स याद आयो- सिटामोल मेरो अस्पतालको इमर्जेन्सीमा बरू मैले पाउन सक्छु।
म हतारहतार अस्पतालभित्र आएँ र इमर्जेन्सीको बट्टामा रहेका दुइटा सिटामोल झिकेर पानीसँग निलेँ। घडीले ८ः३० बजायो। आज मैले ओपिडी हेर्नुछ। एक कप चिया पिएर म ओपिडी छिरेँ। ओपिडीमा उस्तै भीडभाड थियो। म सकिनसकी बिहानीसत्रका बिरामी जाँच्दै थिएँ। मेरो भागका २० जना बिरामी जाँची सकेपछि मेरो शरीरले साथ दिन छाड्यो। एक जना सिनियर म्याडमलाई आफ्नो अवस्था बताएँ र बिदा मागेर घरतिर हान्निएँ।
घर आइपुग्दा घरको अवस्था झन् बिजोग रहेछ। बिहानैदेखि मेरी आमालाई ज्वरोले च्यापेको रहेछ। बा रुल्ल-टुल्लको अवस्थामा आमालाई सिटामोल खुवाउँदै थिए। म कोठामा आएर खाटमा पल्टेँ। लाग्दै थियो, मलाई कसैले शरीरमा ड्यामड्याम लठ्ठीले कुटेको छ। त्यो रात मैले उच्च ज्वरोको बेहोसीमा बिताएँ। डिग्री हाल्दा ज्वरो १०४ देखाउँथ्यो। सिटामोल र पानीपट्टी निरन्तर थियो।
बिहान उठ्नेबित्तिकै पठाओ ट्याक्सी बोलाएर आमा र म पाटनको इमर्जेन्सी पुग्यौं। डेंगीको शंका थियो, दुवै जनाको जाँचले डेंगी नै देखायो। दिउँसोभर इमर्जेन्सीमा बसेर हातमा सुईसहित साँझ घर आइयो। नसाबाट सिटामोल, सलाइन लगाइदिने जिम्मा श्रीमतीको। जाँच गरेर आएको पाँच दिन मलाई ज्वरोले छाडेन। सलाइनबाट सिटामोल दिँदा पनि ज्वरो टसको मस गरेन। १०४ को ज्वरो बल्लबल्ल १०३ मा झर्थ्यो।
शरीर त्यसरी तात्दा र डेंगीले आलसतालस हुँदा मैले अस्पतालमा हेरेका डेंगीका बिरामीलाई सम्झेँ। ज्वरोले आत्तिएका बिरामीलाई म कति सजिलै यान्त्रिक रूपमा सिटामोल खानुस्, जीवनजल खानुस् भनेर अर्ती-उपदेश दिन्थेँ। जब आफू ढलेँ, तब मलाई महसुस भयो, डेंगीले कतिसम्म गाह्रो बनाउने रहेछ।
हजुरबुवाले सधैं भन्नुहुन्थ्यो– अरूलाई वेदान्त, आफूलाई प्राणन्त।
अर्थात् अरूलाई पर्दा ज्ञानगुनका गफ जति पनि दिन सकिन्छ, तर जब आफैंलाई पर्छ प्राण जाला जस्तो हुने रहेछ।
अस्पतालमा भेटिएका केही सहकर्मी नर्सहरू जसलाई केही समयअघि नै डेंगी भएको थियो, मलाई भन्दै हुनुहुन्थ्यो- दुईचोटि कोभिड लाग्यो, यति गाह्रो भएन। तर डेंगीले त ध्वस्तै पारिदियो। डेंगीभन्दा त कोभिड नै ठीक!
मैले पनि आफूलाई दुईचोटि लागेको कोभिडको बेला सम्झेँ। हुन पनि मलाई त्यति गाह्रो भएको थिएन, जति डेंगीको यो ज्वरोले मलाई थला पारेको थियो। मलाई डेंगी भएको तेस्रो दिनमा बालाई ज्वरो आउन सुरू गर्यो। अब घर डेंगीमय भएको थियो। घरमा एकैचोटि धेरैजना ओछ्यानै पर्ने गरी बिरामी हुँदाको पीडा यसपालि मैले नराम्रोसँग अनुभव गरेँ। यस्तो बेलामा आफन्त र परिवारको साथ-सहयोगको कति धेरै महत्व हुने रहेछ भन्ने पनि प्रष्ट बुझेँ।
समुदायमा डेंगी डढेलो जसरी फैलिएको छ। डेंगी पीडितलाई ज्वरो कम भइराखेको छैन। डेंगीका अरू जटिलता देखिएर मानिसहरू अस्पताल भर्ना हुने अवस्था आइरहेको छ।
बेला ‘स्वास्थ्य आपतकल’ लाग्नुपर्ने हो। बिडम्बना, यो देशमा हरबखत ‘राजनीतिक आपतकल’ मात्र लाग्छ। जनताको ज्वरो घटोस् नघटोस्, राजनीतिक ज्वरो सधैं उच्च हुन्छ। सरकार कहिले जाडो आउला र लामखुट्टेका खुट्टा-पखेटा भाँचिएलान् भनेर हाइ काढेर बसेको छ। स्थानीय सरकार निकम्मा छ। डेंगी फैलाउने लामखुट्टेको भगाउन गर्न सकिने ‘कीटनाशक स्प्रे’ गर्नसमेत जोखाना हेरेर बसेको छ।
डेंगीले मलाई ६ दिन निस्लोट पारामा सुतायो। ६० वर्ष कटेका डेंगी लागेका आमाबा बल्लबल्ल गोडा टेक्न सक्ने गरी तंग्रिँदै छन्। अस्पतालमा बिरामीको चाप छ, धेरै ड्युटी गर्ने डाक्टर बिरामी छन्। त्यसैले पनि शारीरिक कमजोरीका बाबजुद जीवनज ल बोकेर ड्युटी ज्वाइन गरिएको छ।
एक जना सरलाई ‘ड्युटी गर्न जीवन जल बोकेर आएको छु’ भनेको, उहाँले ‘हामी सबै त्यस्तै हो, जीवन जल खाँदै नै ड्युटी गर्दै हो’ भन्नुभयो।
एक मनले सोचेँ- हामी डाक्टरहरूले आराम गर्ने, समयमा खाना खाने, असल जीवनशैली जिउने भनेर सुझाव दिने त बिरामीलाई मात्रै हो। हाम्रो हविगत हामी आफैंलाई थाहा छ। डाक्टरी पेसा धपेडीयुक्त नै हो संसारभर। तर नेपालजस्तो तेस्रो विश्वमा डाक्टर बन्नु भनेको डाक्टर स्वयंका लागि एक थप चुनौती रहेछ भनेर राम्ररी बुझिँदैछ।
डेंगी लागेर अस्पताल फर्केपछि केही समयका लागि आजकल म फरेन्सिक विभाग अर्थात् पोस्टमर्टम विभागतिर खटिएको छु। यो विभागको दुनियाँ अर्कै छ। यो विभागअन्तर्गत दैनिकजसो दुईदेखि तीन शवहरूको पोस्टमर्टममा बस्नुपर्छ। यो विभागमा बसेर हामी मानिसको मृत्युको कारण पत्ता लगाउने प्रयास गर्छौं।
डेंगी लागेर सिकिस्त हुँदा ओछ्यानमा पल्टेर आखा चिम्म गर्दै म सोच्थेँ- यो ज्वरो क्षणिक हो। हराउँछ। बिस्तारै हराउँछ। मान्छेले त जिउनुको कारण खोज्नुपर्छ। मान्छेले त जीवनको उद्देश्य अर्थात् पर्पोज खोज्नुपर्छ।
अस्पतालमा आजकल अनाहकमा ज्यान गुमाएकाको मृत्युको कारण अनि ‘म्यानर अफ डेथ’ अर्थात् मृत्युको तौरतरिका खोज्नमा लागिपरेको हुन्छु। त्यो समय त्यस्तो थियो, यो समय यस्तो छ।
डेंगी लाग्दा आँखा चिम्म गरेर मैले एउटा गीत बाराम्बार सुनेँ।
थाहा छैन, किन त्यति धेरै सुनेँ।
गायक दीपक खरेलले गीतमा आफ्नी मायालुलाई प्रतीक्षा गर्न भनेका छन् र बारम्बार सम्झाएका छन्- समयले मानिसलाई कहाँकहाँ पुर्याउँछ!
सेतोपाटीबाट साभार गरिएको हो।