उग्र दक्षिणपन्थी र विश्वभरका वामपन्थीहरु किन एक ठाउँ उभिँदै छन्

मैले लेख्नका लागि यो विषय र शीर्षक चुनेको महिनौं बितिसक्यो। तर यही सेप्टेम्बर ४ तारिखमा चेक रिपब्लिकको राजधानी प्रागमा भएको विशाल प्रदर्शनका तस्बिरहरू देखेपछि यो विषय पन्छाइरहन सक्ने अवस्था रहेन।

त्यो प्रदर्शनको मूल नारा थियो- चेक रिपब्लिक फर्स्ट। जसरी अमेरिकामा डोनाल्ड ट्रम्पका समर्थक उग्र राष्ट्रवादीहरूको नारा हुने गर्छ- अमेरिका फर्स्ट।

त्यो सरकारविरोधी प्रदर्शनका अनेक आयोजक संस्थाहरूमध्ये उल्लेखनीय थिए- उग्र दक्षिणपन्थी डाइरेक्ट डेमोक्रेसी पार्टी (एसपिडी), उग्र उग्र–दक्षिणपन्थी ट्राइकोलोरा पार्टी र चेक कम्युनिस्ट पार्टी।

प्रदर्शनका नारा थिए- (मध्य–दक्षिणपन्थी पेट्र फिएलाको) सरकार मुर्दावाद। युरोपेली युनियन र नेटो- बाइ बाइ!

प्रदर्शनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिरसहितका टिसर्टमा सजिएका प्रदर्शनकारीहरू पनि थिए। अनि सहभागीहरूको साझा गुनासो थियो- सरकारले चेक जनताको गाँस काटेर युक्रेनलाई सहयोग गर्‍यो, महँगी नियन्त्रण गर्न सकेन, भ्रष्टाचार गर्‍यो।

यीमध्ये प्रधानमन्त्रीमाथि उनीहरूले लगाएको भ्रष्टाचारको आरोपमा दम छ। सरकारप्रति आम मानिसको असन्तुष्टि र वितृष्णा भएको अनि चुलिँदो महँगीबीच सरकारको लोकप्रियता कम रहेको उनीहरूको दाबी पनि सही हो।

तर त्यहाँका प्रदर्शनकारीहरूले बनाउन खोजेको भाष्यमा त्यति मात्रै छैन। त्यसमा अरू धेरै यस्ता कुरा छन् जो सन्देहास्पददेखि झुटसम्म छन्। जस्तो- फिएलाको सरकार युक्रेनका लागि काम गर्छ, ब्रसेल्सका लागि काम गर्छ, चेकका लागि गर्दैन।

अनि उनीहरूका माग? युक्रेनलाई सहयोग बन्द गर। रूससित ग्यासको व्यापार सहज गर। अनि फिएलाको सरकारले राजीनामा देऊ।

सन् २०२१ मा विधिपूर्वक निर्वाचित र प्रदर्शनको दुई दिनअगाडि मात्रै अविश्वासको प्रस्ताव असफल बनाएको सरकारलाई उनीहरूले यही सेप्टेम्बर २५ को अल्टिमेटम दिँदै भनेका छन्- नत्र यही २८ तारिखबाट फेरि प्रदर्शन सुरू हुन्छ।

प्रागमा फेरि उत्तिकै विशाल प्रदर्शनहरू भए भने के होला भन्ने अझै निश्चित छैन। तर यो प्रकरणपछि युक्रेनमाथिको रूसी अतिक्रमणले विश्वभर सिर्जना गरेको नयाँ ध्रुवीकरण भने सतहमा आएको छ।

त्यसमा एकतिर छन् युक्रेनको समर्थन गर्ने मध्यपन्थी लोकतन्त्रवादी र उदारवादी शक्तिहरू।

उनीहरू भन्छन्- तत्काल महँगी र अभावजस्ता ठूलै मूल्य चुकाउनु परे पनि युक्रेनको समर्थन गरेर उसको अस्तित्व जोगाउनुको विकल्प छैन।

तत्कालीन सोभियत संघ टुक्रिँदा स्वतन्त्र भएका पूर्वी युरोपेली देशका धेरै मानिसहरूको विश्लेषण त केसम्म छ भने युक्रेनमा चलेको युद्ध उनीहरूको आफ्नो पनि स्वतन्त्रताको युद्ध हो। रूसले सहजै युक्रेनलाई निल्न पायो भने अरू उस्तै साना देशलाई पनि बाँकी राख्ने छैन भन्ने उनीहरूको बुझाइ छ।

आम रूपमा रहेको यस्तो बुझाइकै कारण पोल्यान्ड लगायत पूर्वी युरोपका देशहरूले महिनौंसम्म आफ्ना नागरिकहरूको गाँसै काटेर भए पनि युक्रेनबाट भागेर आएका दसौं लाख शरणार्थीको भरणपोषण गरिरहेका हुन् र अझै गरिरहेका छन्। युक्रेनमा यसपालि रूसलाई पाठ पढाउन सके पछिसम्मका लागि आफ्ना लोकतान्त्रिक र स्वतन्त्र विदेश नीति हुने साना देशहरूको पनि सुरक्षा निश्चित हुन्छ भन्ने उनीहरूको बुझाइ छ।

तर दोस्रो विश्वयुद्धपछिकै ठूलो र तीव्र मानव विस्थापनबीच रूससित टक्कर लिएर युक्रेनलाई सघाउनु चानचुने काम होइन। त्यस क्रममा आम नागरिकबाट जस्तो त्याग अनिवार्य बनेको छ, त्यसले मानिसहरूमा असन्तुष्टि जन्माउनु पनि स्वाभाविक हो।

यही माहोलमा ध्रुवीकरणको अर्को कित्तामा छन् अधिनायकवादी अनुदारवादी शक्तिहरू जो यस्तै मौकाको खोजीमा थिए। धेरथोर संसारका धेरै देशहरूमा देखापरेको यस्तो अनुदार ध्रुवमा धेरै वामपन्थी र सबै जसो उग्र दक्षिणपन्थीहरू समेटिएका छन्।

उनीहरू भन्छन्- युक्रेनलाई रूसबाट होइन, नेटोबाट जोगाऊ। अनि भ्लादिमिर पुटिनलाई युक्रेनमा चाहेको गर्न देऊ।

उनीहरूमध्ये वामपन्थी र दक्षिणपन्थी राजनीतिक दल र अभियानहरूले लामो समय एकअर्काको विरोध र निन्दा गरेर बिताएका छन्। धेरै समाजहरूमा उनीहरूबीचको द्वन्द्व जारी छ। तर भ्लादिमिर पुटिनको रूसले युक्रेनमा आक्रमण गरेयता उनीहरूको एजेन्डा यति धेरै समान छन् कि उनीहरूबीच एक तहको सहकार्य अब सम्भव र सहज देखिन थालेको छ। चेक रिपब्लिकमा सेप्टेम्बर ४ मा त्यस्तो सहकार्य सतहमा आएको मात्रै हो।

धेरै युरोपेली देशहरूमा यो ध्रुवमा रहने उग्र दक्षिणपन्थीहरू चाहन्छन्- एक देश, एक भाषा, एक धर्म र एक नश्लको नीति कायम होस्।

मध्यपन्थी राजनीतिज्ञ र दलहरूको बहुलतावादी नीतिले आफ्नो श्वेत–इसाई–मूलभाषाको सर्वोच्चतालाई फिक्का बनाइदिएकोमा उनीहरू रूष्ट छन्। सस्तो ज्यालामा कठोर काम गरिदिएर आफ्नो अर्थतन्त्र धानिदिने अन्य भूगोल, धर्म र भाषा सम्प्रदायका आप्रवासीहरूलाई उनीहरूले आफ्नो सभ्यता नै सिध्याइदिने धमिराका रूपमा लिन्छन्।

उनीहरूमध्ये पनि ‘हार्ड–राइट’ भनिने उग्र उग्र–दक्षिणपन्थीहरूले त आफ्ना नश्लभेदी विचारहरू समेत खुलेर प्रकट गर्छन्।

लोकतन्त्र र बहुलता अनि युरोपेली संघजस्ता भिन्न देशहरूमाथि एकै खालका नियम लाद्ने संस्थाहरूका कारण आफ्नो देशले मौलिकता र आफूहरूले हैसियत गुमाउन पुगेको उनीहरूको बुझाइ छ। त्यसैले जब उनीहरू भ्लादिमिर पुटिनजस्तो रूसमा चुनावी अधिनायकवाद संस्थागत गर्ने, बहुलता मास्न देशभित्रकै सहरलाई खण्डहरमा बदलिदिने अनि इयुसित टक्कर लिएर उसलाई छिन्नभिन्न पार्न खोज्ने तानाशाहलाई देख्छन्, उनीहरूलाई लाग्छ, हामीलाई बचाउने ‘मसिहा’ आयो।

वामपन्थीहरूको भ्लादिमिर पुटिनप्रतिको आकर्षणको कारण भने अलि फरक छ।

केही शास्त्रीय वामपन्थीहरू अहिलेसम्म पनि चीन र सोभियत संघको साम्यवाद पुँजीवादसितको होडमा पछि परेर पराजित भयो भन्ने स्वीकार गर्न तयार छैनन्। त्यसैले स्टालिनकालीन सोभियत संघको नोस्टाल्जियालाई उनीहरूले भ्लादिमिर पुटिनको रूसमाथि ल्याएर थोपरेका छन्।

अनि स्वविवेकको प्रयोगै नगरी आफ्नै अस्तित्वको रक्षा गरेझैं भ्लादिमिर पुटिनका जघन्य अपराधहरूलाई ताली पिटेर समर्थन गरिरहेका छन्।

दोस्रो खाले वामपन्थीहरूले सोभियत संघको पतन त स्वीकार गरेका छन् तर पहिलो शीतयुद्धताका सोभियत संघ र चीनको छत्रछायामा विकास गरेको चिन्तन प्रणालीबाट आफूलाई मुक्त गर्न सकेका छैनन्।

अनि फेरिएको संसारलाई उपयुक्त हुने खालको विचार पद्धति र असल–खराबको अवधारणा विकास गर्न सकेका छैनन्। त्यसैले एकाध दशकको अन्तरमा फेरि विकास हुन लागेको दोस्रो शीतयुद्धले उनीहरूलाई ठूलो राहत दिएको छ। चीनमा सी चिनफिङ र रूसमा भ्लादिमिर पुटिनले विकास गर्दै लगेको ‘टेक–अथोरिटरियनिजम’ को स्तुतिमा आफ्नो बौद्धिक करिअरको दोस्रो इनिङ खोजिरहेका छन् उनीहरूले।

स्टालिनका बेलाको र अहिलेको रूसी समाजमा धेरै भिन्नता छ भन्ने उनीहरूलाई थाहा छ। सन् १९९०–९१ मा पूर्वी सोभियत संघबाट छुट्टिएर बनेका पूर्वी युरोपका देशहरूले स्वेच्छाले पश्चिमा देशहरूको जस्तो पुँजीवादी लोकतान्त्रिक बाटो समातेका हुन् भन्ने पनि उनीहरूलाई थाहा छ। त्यसो गरेर उनीहरूले प्रशस्तै प्रगति गरेको कुराहरूको साक्षी पनि उनीहरू छन्।

तर जब ती देशहरूको नेटोसितको सम्बन्धको कुरा आउँछ, यी वामपन्थी बौद्धिकहरूले गजबको तर्क गर्न थाल्छन्- ती देश स्वेच्छाले नेटोमा जोडिएका होइनन्। नेटोले त्यहाँ आफूलाई जबर्जस्ती ‘बिस्तार’ गरेको हो।

उनीहरूका कुरा सुन्दा लाग्छ- नेटोका ट्यांकहरू पोल्यान्डदेखि लात्भियासम्मका सेनालाई परास्त गरेर त्यहाँ पुगेका हुन्।

जबकि मुख्यतः रूसकै विस्तारवादी नीतिप्रतिको भय उनीहरू नेटोमा समेटिनुको प्रमुख कारण थियो। त्यसबाहेक यो युद्धमा पुटिन र रूसको बचाउका लागि वाम वृत्तका धेरै राजनीतिज्ञ र बौद्धिकहरूले अरू पनि उदेकलाग्दा तर्क गर्छन्।

जस्तो, रूसले युक्रेनमा विध्वंश मच्चायो त के भयो, इराकमा अमेरिका र नेटोले त्यत्रो बर्बादी निम्त्याएका होइनन्?

उनीहरूको तर्क प्रणालीमा ध्रुवीकरण यति हावी छ कि युक्रेन र इराक दुवै ठाउँको ज्यादतीको एकसाथ विरोध र निन्दा गर्न सकिन्छ भन्ने कल्पना उनीहरूलाई आउँदैन। एउटाको गल्तीले अर्काको गल्तीलाई जायज ठहर्‍याउँदैन भन्ने आधारभूत मान्यताको त कुरै छाडौं। 

रूसले युक्रेनमाथि गरेको अतिक्रमणलाई उनीहरूले यसरी ‘रूस-नेटो द्वन्द्व’ बनाइदिन्छन् कि मानौं सार्वभौम देश युक्रेनका नागरिकहरू मानिस नभई भुसुना हुन् जसको स्वत्व, आत्मसम्मान वा ‘एजेन्सी’ केही छैन।

(वामपन्थीहरूको यस्तो रवैयाले अस्तित्वका लागि लडिरहेका युक्रेनीहरूलाई कस्तो चोट पुर्‍याउँछ भन्ने प्रसंगका लागि पढ्नुहोस्- युक्रेन युद्धको भूराजनीति: दोष रूसको कि नेटोको?)

पृष्ठभूमि र तर्कहरू जेजस्ता भए पनि युक्रेनमाथिको रूसी अतिक्रमणपछिको परिवेशमा रूसको पक्षमा नतिजा निकालिहाल्न केही देशका वामपन्थीहरूलाई हतारो छ। यति हतारो कि उनीहरू चेक रिपब्लिकमा झैं नश्लभेदी उग्र दक्षिणपन्थीहरूसित हात मिलाउने अवस्थामा पुगेका छन्। सँगै युरोपको राजनीति भाँडेर आफू अनुकूल सरकार बनाउने रूसको सुनियोजित अभियान चलिरहँदा यस्ता प्रदर्शनहरू कति स्वतः स्फूर्त र कति परिचालित भन्ने प्रश्न पनि उठेका छन्।

खास गरी इट्ली लगायत अरू केही देशमा आफ्नो स्वार्थ अनुसारका शक्तिलाई सत्तामा पुर्‍याउने रूसी एजेन्डा सफल होला कि भन्ने अनुमान अहिले विश्लेषकहरूले गरिरहेका छन्।

वामपन्थी र उग्र दक्षिणपन्थीहरूको त्यस्तो मिलन र एजेन्डाको समानता युरोपमा मात्रै सीमित छैन। छिमेकी भारतमा गेरूवा राष्ट्रवादी भाजपा, उसको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ र वामपन्थी पार्टीहरूमा भ्लादिमिर पुटिनका प्रशंसकहरूको उपस्थिति चर्को छ। भारतको एउटा प्रमुख वाम पार्टीले त हालै लोकप्रिय पोलिटब्युरो सदस्य तथा महिला अधिकारवादी नेता कविता कृष्णनलाई पार्टीको जिम्मेवारीबाट मुक्त नै गर्‍यो। कारण- कृष्णनले तत्कालीन सोभियत संघ र चीनका ‘साम्यवादी’ सरकारहरू र सी चिनफिङ मोडलको अहिलेको चिनियाँ शासनपद्धतिको खुलेर आलोचना गरेकी थिइन्।

संसारभर बोलीमा सर्वहाराको पैरवी गर्ने तर सत्तामा पुगेपछि व्यवहारतः आसेपासे पुँजीवादमा समाहित हुने वामपन्थीहरूले यसै पनि ढोंगी र पाखण्डीको आरोप खेप्दै आएका छन्। 

तर चेकोस्लोभाकियाको इतिहासमा वामपन्थीहरूलाई दोहोरो भूमिका खेलेको आरोप लगाउन कठिन छ। कारण- सन् १९६८ मा चेकोस्लोभाकियामा सुधार र लोकतन्त्रको आवाज दबाउन सोभियत शासक ब्रेझ्नेभले २ लाख सैनिक र ५ हजार ट्यांक पठाएपछि त्यहाँका नागरिकहरूले अदम्य साहसपूर्वक सोभियत ट्यांकहरूको प्रतिकार गरेका थिए। तर त्यहाँको कम्युनिस्ट पार्टीको कट्टरपन्थी कित्ता हावी भएर ‘साम्यवाद’ जोगाउन सफल भएको थियो।  

अगस्ट २१, १९६८ मा प्राग पुगेका सोभियत ट्यांक र सेनाहरूको प्रतिकार गर्दै चेकस्लोभाकियाका नागरिकहरू।  

२०२२ मा फेरि एकपल्ट पुटिनको रूसले छिमेकको युक्रेन कब्जा गर्न हजारौं ट्यांक र लाखौं सेना पठाएको छ। रूसी सेनाले त्यहाँ गरेका अकल्पनीय युद्ध अपराधका भिडिओहरू सर्वत्र छन्। तर मानिस जातिकै मुक्ति र न्यायका लागि भनेर राजनीति गर्ने चेक कम्युनिस्ट पार्टी आफ्नो सरकारलाई भनिरहेको छ- युक्रेनलाई छाड, रूसलाई समर्थन गर।

अर्थात् चेक रिपब्लिकको कम्युनिस्ट पार्टीको अडान हिजो सोभियत ट्यांकहरूले आफ्नो देशका नागरिकहरूको स्वतन्त्रता कुल्चिँदा, सयौं निहत्था नागरिक मारिँदा र लाखौं विस्थापित हुँदा पनि उत्पीडक र अतिक्रमणकारीहरूकै पक्षमा थियो। आज रूसी ट्यांकहरूले हजारौंलाई मारेर युक्रेनी नागरिकहरूको स्वतन्त्रता कुल्चिने प्रयास गर्दा पनि उसको समर्थन उतै छ।

वाह, यस्तो पो वफादारी!

संसारका सबै वामपन्थीहरूको इतिहास यस्तै भने छैन।  अद्यापि समता र न्यायका मुद्दासहित राजनीतिमा हुने वामपन्थीहरू पनि छन्। अचम्म चाहिँ के भने, तीमध्ये धेरै वाम पार्टीहरु पनि भ्लादिमिर पुटिनजस्ता देशभित्र दमन र देशबाहिर युद्ध अपराधका लागि कुख्यात तानाशाहको बचाउमा उत्रेका छन्। त्यसका लागि नश्लभेदी र श्वेत सर्वोच्चतावादी उग्र दक्षिणपन्थीहरूसित तालमा ताल मिलाइरहेका छन्।

अनि दलीय राजनीतिमा नहुने नोम चोम्स्कीजस्ता वामपन्थी बौद्धिकहरूले पनि भ्लादिमिर पुटिनका जघन्य अपराधहरूका लागि अमेरिका र नेटोको दोष देखाउन हरसम्भव प्रयास गरिरहेका छन्।

मलाई लाग्छ, त्यसले उनीहरूको यसै फितलो राजनीति तथा मुक्ति र न्यायको पैरवीलाई थप सुस्त र दिशाविहीन पनि बनाइदिनेछ। आखिर नारा जे लगाए पनि उत्पीडितलाई कुल्चिने नै हो र शक्तिको भक्ति नै गर्ने हो भने कोही किन नाजी वा ‘कु क्लुक्स क्लान’ को झन्डा छाडेर हँसिया र हथौडा अंकित झन्डामुनि बस्न जाओस्?

सेतोपातीबाट साभार गरेएको हो।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

युक्रेनमा रूसी हमला : भ्रम र यथार्थ

केही समयअघि यसै अनलाइनमा प्रकाशित एक लेखमा मैले युक्रेन शक्ति राष्ट्रहरूको भूराजनीतिक द्वन्द्वको चपेटामा परेकाले पहिला फुर्सदमा गरिने गफ जस्तो लाग्ने युद्ध अहिले वास्तविकतामा परिणत हुँदै गएको कुरा उल्लेख गरेको थिएँ। त्यसबेला रूस र पश्चिमी शक्तिहरूबीच युद्ध रोक्नेबारे वार्ता चलिरहेको थियो र धेरैलाई यो उन्मादलाई विवेकले जित्नेछ र युद्धको सम्भावना टर्नेछ भन्ने आशा थियो। तर […]

Read More

‘भविष्यमा राजनीतिमा आउँछु, तर फिल्म क्षेत्र छाड्छु’

काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि उनले आफूले राजनीतिक र सामाजिक मुद्दामा बोलिरहेको बताए । तर अहिले भने आफू अर्धमौन अवस्थामा रहेको दीपकले बताए । ‘राजनीतिक विषयमा बोलिरहेको छु, अहिले अर्धमौन […]

Read More

भरतपुरमा उमेश श्रेष्ठको गाडी तोडफोड

३० कात्तिक, चितवन । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको […]

Read More