आउने साताको पहिलो दिन विश्वकप फुटबल सुरू हुन लागेको छ। यही बेलामा बिबिसीका विश्व संवाददाता रजिनी वैद्यनाथनले नेपालको धनुषा पुगेर गरेको तयार गरेको स्थलगत समाचार प्रसारण भएको छ।
बिबिसीले प्रमुखताका साथ प्रसारण गरेको उक्त समाचारमा विश्वकप आयोजना गर्न तयार अत्याधुनिक रंगशाला बनाउने क्रममा नेपाल, भारत र बंगलादेशका हजारौं कामदार दुर्घटनामा परेर मरेको वा घाइते भएको घटना प्रस्तुत गरिएको छ।
समाचारमा कतारमा रंगशाला बनाउँदै गर्दा दुर्घटनामा परेर मरेका नेपालीको शव बाकसमा फर्काएर एक वर्ष पनि नपुगेका नातिले वृद्ध बाजेको काखमा बसेर दागबत्ती दिँदै गरेको हृदयविदारक दृश्य देखिन्छ।
ती दृश्य हेर्दै गर्दा मैले हाम्रा पूर्वप्रधानमन्त्री लगायतका नेताहरूले फ्री भिसा र फ्री टिकटमा खाडी मुलुक र मलेसिया पठाइदिन्छु भनेर चुनावी सभाका दिएका मौसमी आश्वासन सम्झिएँ।
परदेश बसेर आफ्नै देशको यस्तो समाचार हेर्दै गर्दा ठूलो पीडा महसुस गर्दै थिएँ। त्यतिखेर मनमा एउटा कुतूहल जाग्यो- वर्षौं ठाउँ ओगटेका र फेरि पनि प्रधानमन्त्री हुन लालायित यी हाम्रा नेताहरूले यो समाचार हेर्न भ्याए कि भ्याएनन् होला!
अर्थात्, चुनावमा गाली गर्न र ताली खान व्यस्त नेताहरूले उक्त समाचार हेर्न नपाए पनि तिनका वरपर रहने सहयोगीमध्येका कसैले हेरेर सुनाउन पाए कि पाएनन् होला!
विश्वकप फुटबलको संघारमा आयोजक मुलुक कतार विवादमा छ। मुख्य विवाद उही हो, रंगशाला बनाउँदा कामदारमाथि भएको शोषण र दुर्घटनामा परेर मृत्यु भएका कामदारका परिवारले पाउनु पर्ने क्षतिपूर्ति वा घाइते भएकाले पाउनु पर्ने उपचार वा अन्य सुविधा नपाएको विषय।
यसमा धेरै प्रश्न उठेको छ।
रंगशाला निर्माणको काम गर्दा घाइते भएर वा मरेर पनि क्षतिपूर्ति नपाएका पीडितहरूको पीडाको कुरा सम्बन्धित मुलुकले होइन कि, विश्वकप खेलाडीका मुलुकले पो उठाइदिएका छन्।
यता चुनावको मौकामा जनतालाई खाडी र मलेसिया पठाउने आश्वासन दिन नेताहरूलाई कुनै धक लागेको छैन। सायद आउने साताको पहिलो दिन हुने संसदीय निर्वाचनमा विकल्पहीन जनता तिनै नेतालाई देश हाँक्ने अख्तियारी दिएर फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछन्।
गएको दीपावलीका अवसरमा एक जना भारतीय मित्रले बेलायती प्रधानमन्त्री ऋषि सुनकको प्रसंग जोडेर गौरवका साथ भनेका थिए– हेर शिवजी, संसारका सात मुलुकमा भारतीय मूलका नेता शासन गर्दै छन्।
बिबिसीको उक्त समाचार हेर्दै गर्दा भारतीय मित्रको कुरा सम्झेँ।
बिबिसीको समाचारमा कतारमा मर्ने र घाइते हुने कामदार पठाउने मुलुकमा नेपाल र बंगलादेशसँगै भारतको नाम पनि थियो।
परदेश गएका नेपालीहरू कुनै न कुनै रूपमा शोषित–पीडित छन्, दुई सय वर्षअघिदेखि सैनिक बनेर बेलायत र भारतका लागि लड्ने गोर्खाली होऊन् वा खाडी र मलेसियाको गर्मीमा पाक्दै गरेका श्रमिक वा भारतको कालापानीबाट स्वदेश फर्किँदै गर्दा सिमानामा ठगिनेहरू होऊन्!
केही दिनअघि एउटा कार्यक्रममा पूर्वब्रिटिस गोर्खा सैनिकहरूलाई बेलायती सेनासरह सुविधा र हक हुनु पर्ने मागमा ब्रिटिस सरकारसँग वार्ता गर्नेमध्येका सेवानिवृत्त एक जना गोर्खा मेजरको कुरा सुन्न पाएँ।
उनले हालसम्मको वार्ता प्रगति सुनाउने क्रममा गोर्खालीहरू कतिसम्म ठगिएका छन् भन्ने फेहरिस्त पनि सुनाए। उनको कुरा सुन्दै गर्दा पनि मैले फ्री भिसा र फ्री टिकटमा खाडी मुलुक पठाउने भनेर नेताहरूले दिएको आश्वासन सम्झेँ।
केही महिनाअघि भारतीय सेनापति नेपाल आउँदा नेपालबाट भारतीय सेनामा जाने गोर्खाहरूलाई लागू हुने भविष्यहीन ‘अग्निपथ’ मोडलको कुरा गरे। यसबारेमा हाम्रा नेताहरू चुँइक्क बोल्न नसकेको पनि मैले सम्झेँ। हाम्रो सरकार बेलायती र भारतीय सेनामा नेपालीको भर्ती रोक्न सक्दैन र भर्ती हुनेको भविष्यको सुरक्षाका लागि बोल्न पनि सक्दैन।
नेपालका कुनाकाप्चामा पुगेर खाडीमा पीडित नेपालीहरूको खोज गरेर समाचार दिँदै गरेका बिबिसी संवाददातालाई सोध्न मन लागेको थियो– त्यति टाढा पुगेर नेपालीको हकअधिकारका लागि समाचार बनाउने संवाददाताहरू बेलायतका लागि जवानी र रगत दिने गोर्खाहरूले बुढेसकालमा गरेको आन्दोलनबारे किन खोजी गर्दैनन्?
विश्वकप फुटबलको प्रसंग भएकाले होला, बिबिसीले नेपालसम्बन्धी आफ्नो रिपोर्ट कतारमा अति आधुनिक रंगशाला बनाउन आफ्नो श्रम दिनेहरूको गाउँमा घाँसे मैदानमा फुटबल खेल्दै गरेको दृश्यबाट सुरू गरेको थियो।
करिब एक दशकअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादव कतार भ्रमणमा जाँदा कतार सरकार उनलाई रातो कार्पेटमा स्वागत गर्दै थियो। त्यही समय नेपाल फर्किन लागेका नेपाली कामदारहरू मालिकले दिएको फलफूल लगेजमा राख्ने तयारी गर्दा कतारी एयरपोर्टका भारतीय स्टाफले हिन्दी भाषामा गरेको अपमानजनक गाली सुन्दै थिए।
नेताहरूले गाउँठाउँ बाँझो राखेर अर्काको देश हराभरा बनाउन बाध्य श्रमिकलाई विदेश पठाउने आश्वासन दिएको सुन्दा कतारमा देखिएका ती दृश्यहरू सम्झिन्छु।
१०४ वर्षअघि ११ नोभेम्बरमा प्रथम विश्वयुद्ध टुंगिएको दिनको सम्झनामा गत आइतबार बेलायतभरि ‘रिमेम्बरेन्स डे’ मनाइयो। इतिहास कोट्याएर हेर्दा थाहा हुन्छ, प्रथम विश्व युद्धमा नेपालले ९ लाख १७ हजार १४४ जवान रिक्रुटको रूपमा भर्ती गर्न दिएको रहेछ, १२ हजार २५८ नेपाली सैनिक ब्रिटिसको मद्दतका लागि पठाएको रहेछ।
त्योभन्दा गज्जबको कुरा चाहिँ त्यस बखत नेपाल सरकारले बेलायती सरकारलाई नेपालमा नै बनेका ३१ वटा मेसिन गनसहित वर्कसपमा हतियार बनाउन ३४० जना मेकानिक्स पनि पठाइदिएको रहेछ।
अझ त्योभन्दा पनि स्मरणीय कुरा, नेपालले लडाइँका लागि ८४ हजार ६९९ पाउन्ड चियापत्ती, ८ हजार १२२ थान कम्बल (राडीपाखी), २०० वटा ज्याकेट, १ हजार २०० थान ओभरकोट, ७८ टन दालचिनी र शरद दुनको जंगलबाट २ लाख ठूलो ‘ब्रडगरेज स्लिपर’ पठाएको रहेछ।
सय वर्षअघि राणाकालमै ब्रिटिसलाई समेत यति सहयोग गर्न सक्ने हैसियतको नेपालका युवाहरू अहिले बाँच्नको लागि परदेश भासिनु पर्ने अवस्थामा छन्।
विदेश भ्रमणमा जाने नेपालका सरकार प्रमुख वा अन्य नेताहरूले विदेशमा रहेका नेपालीहरूको हविगत नजिकबाट देखेका हुन्छन्। नेताहरू देखेर पनि बिर्सिन्छन् वा बेवास्ता गर्छन्, संवेदनशील विषय छ।
कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री भएपछिको एउटा घटना आफ्ना निकटस्थलाई सुनाएका रहेछन्। भट्टराई सन् १९९९ अक्टोबरमा अमेरिका भ्रमणबाट स्वदेश फर्कने क्रममा जर्मनीको फ्रान्कफर्ट पुगेका रहेछन्।
फ्रान्कफर्ट एयरपोर्टमा एकजना नेपालीले नमस्कार गर्दै आफ्नो कुरा भनेछन्– प्रधानमन्त्रीज्यू, जर्मनी आएर साह्रै दुःख पाएँ, कुनै राम्रो जागिरका लागि भनिदिनु पर्यो।
भट्टराईले छक्क पर्दै सोधेछन्– तिमीले मलाई कसरी देख्यौ बाबु?
ती नेपालीले भनेछन्– यहाँ सिसा पुछ्दै थिएँ, हजुर आउनुभएको देखेर आएँ।
भट्टराईले जर्मनीका लागि कार्यवाहक नेपाली राजदूतलाई भनेछन्– यी बाबुलाई राम्रो सहयोग गरिदिनू।
सन् १९६४ डिसेम्बर १० मा दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति पार्क चुङ ही र प्रथम महिला युक योङ सु जर्मनीको भ्रमणमा गएका थिए। जसै राष्ट्रपति पार्कले जर्मनीको डुइसबर्ग सहरको सिटी हलमा उपस्थित ४०० जना कोरियालीलाई सम्बोधन गर्न थाले, माहौल अर्कै भयो।
पार्कले आफ्नो सम्बोधनमा भनेछन्– तपाईंहरूको थकित अनुहार देखेर म विह्वल भएको छु। हजार मिटर तल सुरुङमा पसेर कोइला निकाल्दा तपाईंहरू धेरै खतरामा पर्नुहुन्छ। यो सबै हाम्रो गरिबीको कारणले भएको हो। अब यसरी हुँदैन, हामीले हाम्रो भागबाट देशको लागि गर्नु पर्ने गरौं ताकि नयाँ पुस्ताले हामीले जस्तो भोग्न नपरोस्। म यहीँबाट त्यसका लागि केही गर्ने प्रण गर्छु।
राष्ट्रपतिले यसो भन्नेबित्तिकै त्यहाँ उपस्थित कोरियाली कामदार र नर्सहरू भक्कानिएर रून थालेछन्। त्यो दृश्य देखेर राष्ट्रपति पार्क र प्रथम महिला युक पनि सुँक्कसुँक्क गरेछन्। कार्यक्रम सकेर निस्कन लागेका राष्ट्रपतिलाई ती कोरियालीहरूले केही बेर आफूहरूसँग बिताउन आग्रह गरेछन्।
त्यसै बेला एकजना नर्सले रूँदै राष्ट्रपतिलाई भनिछन्– हामी देश र परिवारबाट धेरै टाढा छौं, होम-सिकले धेरै सताउँछ, हामी स्वदेश फर्कने वातावरण बनाइदिनुहोस्।
राष्ट्रपतिले म देशलाई विकासको बाटोमा हिँडाउँछु भन्दै ती नर्सलाई अँगालो हालेका थिए रे।
भनिन्छ, त्यही भ्रमणपछि नै पार्कले कोरियाको विकासको चित्र कोरे। डेढ सय वर्षअघि युरोपेली औद्योगिक क्रान्तिको समयमा कामदार बनेर जर्मनी छिरेका कोरियालीहरूलाई समृद्धिको बाटो देखाए। सन् १९६० ताका उस्तै आर्थिक अवस्थामा रहेका नेपाल र दक्षिण कोरिया अहिले आपसमा दाँज्न नमिल्ने अवस्थामा छन्। दक्षिण कोरिया अहिले संसारका २० वटा आर्थिक शक्तिशाली देशमध्ये एक भएको छ। राष्ट्रपति र प्रथम महिलाले परदेशमा आफ्ना नागरिकको आँसु देखेर गरेको अठोटले दक्षिण कोरिया कहाँबाट पुगिसक्यो! नेपाली नेताहरू अझै फ्री भिसा र फ्री टिकटमा विदेश पठाउने आश्वासन दिँदै छन्।
आज विश्व कप फुटबलको संघारमा बिबिसीले नेपाली कामदारहरूबारे गरेको खोजमूलक समाचार हेर्ने कुन नेपालीको मनमा चैन होला र!
यो समाचार हेरेर द्रवित हुँदै प्रण गर्ने सरकार प्रमुख हामी नेपालीले पाऔंला नि नपाऔंला!
हाम्रा नेताहरूले चुनावको संघारमा धनुषाको गाउँबाट बिबिसीले बनाएको उक्त खोजमूलक समाचार हेरून् र दक्षिण कोरियाका ती राष्ट्रपति पार्कले झैं एउटा प्रण गरून्।
के हामी हाम्रा नेताहरूबाट यस्तो अपेक्षा गर्न सक्छौं?
सेतोपाटीबाट साभार गरियको हो।