रूसले युक्रेनमा युद्ध सुरू गरेयता मैले सेतोपाटी र कान्तिपुरमा गरी त्यो द्वन्द्वसम्बन्धी आधा दर्जन जति लेखहरू लेखेको छु। त्यसबाहेक क्लबहाउसमा त्यस विषयलाई लिएर निरन्तर हुने बहसमा पनि भाग लिएको छु। इमेलमा पनि यसै विषयमा लामा तर्कवितर्क भएका छन्। अनि साथीभाइसित प्रत्यक्ष कुराकानीमा यसै विषयमा निकै पेचिला विवाद चलेका छन्।
ती बहसको एक पक्ष भन्छ- यो विनाशकारी युद्धका लागि दोषी र जिम्मेवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन हुन्।
अर्को पक्ष भन्छ- यो युद्धमा पुटिन बाध्य भएर, घिसारिएर पुगेका हुन्। उनलाई युद्धमा जान बाध्य पार्ने नेटो र पश्चिमा शक्तिहरू यसका लागि मुख्य रूपमा जिम्मेवार हुन्।
यी सबै बहसपछि मलाई लाग्छ- सामाजिक सञ्जालको यो युगमा तर्कवितर्कका भरमा मानिसको कुनै विषयमा धारणा बदलिनु अन्यत्र जस्तै नेपालमा पनि विरल बनेको छ। यो युद्धका लागि जसरी सुरूदेखि मैले पुटिनलाई दोषी देख्दै आएको छु, उसै गरी केही साथीहरू नेटोलाई दोषी देख्दै आएका छन्।
यो बोधसँगै एउटा प्रश्न जन्मने गर्छ- यदि बहसमा सामेल कोही आफ्नो अडान वा धारणाबाट टसको मस नहुने हो भने बहसको औचित्य नै के?
यो प्रश्नको उत्तर यो लेखको अन्तिममा खोज्ने गरी अहिलेलाई चर्चा गरौं युद्धको पछिल्लो अवस्थाबारे, जसले मलाई यो विषयमा फेरि एकपल्ट लेख्न बाध्य पारेको हो।
रूस–युक्रेन युद्धले हालै एउटा डरलाग्दो खुड्किला पार गर्यो। यही सेप्टेम्बर ३० का दिन युक्रेनको झन्डै १८ प्रतिशत भूभाग समेट्ने चार वटा प्रान्तहरू रूसमा समेटेको घोषणा गरे भ्लादिमिर पुटिनले। साथै ती भूभागको रक्षाका लागि आणविक लगायतका सबै हतियारहरू प्रयोग गर्ने धम्की रूसी सत्ता संस्थापनले निरन्तर दिइरहेको छ।
राजधानी मस्कोमा यो युद्धसम्बन्धी पुटिनको भाष्य यस्तो छ भने मैदानको यथार्थ बिल्कुल भिन्न छ।
पुटिनले रूसमा गाभेको भनिएका चारमध्ये मैले यी पंक्ति लेख्दै गर्दा कुनै पनि प्रान्तको शतप्रतिशत भूभाग रूसको नियन्त्रणमा छैन। तीमध्ये डोनेत्स्क प्रान्तको ठूलो हिस्सा युक्रेनको नियन्त्रणमा त छ नै, केही दिन अघिसम्म रूसी नियन्त्रणमा रहेको त्यहाँको लिमान नामक रणनीतिक महत्वको सहरलाई युक्रेनी पक्षले मुक्त गरेको छ। खेर्सन र जापारेज्जिया प्रान्तहरूमा भिडन्तहरू भइरहे पनि हात युक्रेनको माथि छ। खास गरी खेर्सनमा कुनै पनि बेला रूसले अर्को ठूलो पराजय भोग्न सक्ने अवस्था छ भन्छन् विज्ञहरू।
जुन सुकै कारणले युक्रेनका प्रान्तहरूलाई रूसमा गाभ्न परेको भए पनि यस्तो स्थितिमा ती प्रान्तहरू रूसमा गाभिएको घोषणा गर्न पर्नु पुटिनका लागि अनुकूल अवस्था होइन।
वास्तवमा पुटिन चाहन्थे- पूर्वी र दक्षिणी युक्रेनको ठूलो हिस्सामा युक्रेनी पक्षले चलमलै गर्न नसक्ने गरी बलियो सैन्य नियन्त्रण कायम गरौं अनि युक्रेनी भूभागमाथिको रूसी नियन्त्रणलाई विश्वसामु ‘फेयट आकम्प्ली’ का रूपमा प्रस्तुत गरौं। अनि फर्जी नै भए पनि जनमत संग्रह गराएर ती भूभागमाथिको आफ्नो सैन्य नियन्त्रणलाई वैधता दिलाऊँ।
तर पछिल्ला डेढ महिनामा उत्तर–पूर्वी युक्रेनको खार्किभ प्रान्तमा रूसी सेनाले बेहोरेको लज्जास्पद हारपछि पुटिनले थप हार रोक्ने प्रयासस्वरूप विवश भएर अहिले हतारमा त्यस्तो निर्णय लिएको भन्ने विश्लेषकहरू प्रशस्त छन्।
यो पछिल्लो प्रकरणपछि पुटिनले युक्रेन र उसका सहयोगी पश्चिमा देशहरूलाई प्रस्ट सन्देश दिएका छन्- या त युक्रेनका उल्लिखित भूभागको माया मार र रूसी भूभाग बन्न देऊ। होइन भने आणविक युद्धको जोखिम उठाऊ।
विश्लेषकहरू भन्छन्- हामी दोस्रो विश्वयुद्धपछि पहिलो पल्ट आणविक युद्धको यति नजिक पुगेको छौं।
नेपालका पुटिनप्रेमीहरूले यी घटनाक्रमलाई ठ्याक्कै कसरी हेरेका छन् मलाई थाहा छैन। तर त्यसको अनुमान लगाउन कठिन पनि छैन- जसरी युक्रेनमाथि अतिक्रमण गर्न पुटिन नेटोका कारण बाध्य भएका थिए, उनले आणविक युद्ध सुरू गरे भने त्यसको कारण पनि नेटो नै हुनेछ।
एवम् रीतले यो युद्ध जुन दिशामा जहाँ पुगे पनि पुटिनका समर्थक र आलोचकहरूबीचको बहस अन्त हुने छैन। दुई पक्षमध्ये को चाहिँ सही र को गलत भन्ने टुंगो पनि लाग्ने छैन।
जसरी अहिले पनि स्टालिनका समर्थक र आलोचकहरू भेटिन्छन्, जलवायु संकटले मानिसको अस्तित्व मेटाइदिएन भने आउँदो सय वर्षपछि पनि पुटिनका समर्थक र आलोचकहरू भेटिनेछन्।
उसो भए यो युद्धमा पुटिन सही वा गलत भनेर गरिने तर्कवितर्क वा पैरवीको कुनै सार्थकता छ कि छैन? कतै नेपालजस्तो युद्ध मैदानभन्दा टाढा रहेको मुलुकमा बसेर वादविवाद गर्नेहरूले युद्धका महत्वपूर्ण आयामहरू छुटाएका पो छन् कि त? तिनलाई समेट्दा बहस बढी रचनात्मक पो हुन्छ कि त?
पछिल्लो समय मैले यी कोणहरूबाट यो युद्धलाई हेरिरहेको छु।
केही दिनअगाडि ‘न्यूयोर्क टाइम्स’ पत्रिकाको ‘द डेली’ पोडकास्टका लागि कुराकानी गरेका एक रूसी नागरिकको कथाले यो बहसमा एउटा नयाँ आयाम थप्न सक्ने मलाई लाग्छ।
किरिल एक साधारण २४ वर्षे रूसी युवक हुन्। फेब्रुअरीमा यो युद्ध सुरू हुँदा उनी रोजगारमा थिए। युद्ध सुरू भयो, जनजीवन खासै बदलिएन। केही समयमा उनको रोजगार गुम्यो तर उनले फेरि अर्को काम पाए।
इन्टरनेटमा पहुँच भएका उनी सुरूदेखि नै यो युद्ध पुटिनले भनेझैं सीमित खालको विशष सैन्य कारवाही थिएन भन्नेमा विश्वस्त थिए। युद्धको त्रासदी उनले बुझ्न नसक्ने कुरा थिएन।
तर रूसको राष्ट्रिय टेलिभिजन मात्रै हेर्ने उनका बाबुआमा आँखा चिम्लेर पुटिनको समर्थन गर्थे। उनले गल्ती गर्न सक्ने कल्पना पनि गर्दैन थिए।
त्यसैले युद्ध सुरू भएलगत्तै यस विषयमा घरमा विवाद भयो। विवादले तिक्तता सिर्जना गर्न थालेसँगै अघोषित सम्झौता भयो- राजनीतिका विषयमा घरमा कुरै नगर्ने।
आखिर सेप्टेम्बरको महिना आयो। खार्किभ प्रान्तमा रूसी सेनाको लज्जास्पद हार भएर ठूलो भूभागमा नियन्त्रण गुमाउन पुगेपछि भ्लादिमिर पुटिनले देशभर आंशिक अनिवार्य सैन्य सेवा घोषणा गरे। सैन्य अनुभव भएका लड्ने उमेरका युवाहरूलाई युक्रेन युद्धका लागि अनिवार्य भर्ती लिने उर्दी जारी भयो।
तर व्यवहारमा पचास वर्ष कटेकाहरूलाई पनि जबर्जस्ती भर्ती गरियो। सैन्य अनुभव नभएकालाई पनि भर्तीका लागि ‘ड्रफ्ट नोटिस’ थमाइयो। युद्ध र जबर्जस्ती भर्तीको विरोधमा सडकमा प्रदर्शन गर्ने युवाहरूलाई पनि त्यो थमाइयो। ग्रामीण क्षेत्रमा त्यस्तो अभियान सबैभन्दा तीव्र भयो।
गरिब, पिछडिएका र अल्पसंख्यकहरूमाथि ज्यादती नै हुने गरी युवाहरू थुतिन थाले। एउटा जिल्लामा जबर्जस्ती भर्ती लिइएका युवामध्ये ९० प्रतिशत एउटा अल्पसंख्यक समुदायबाट लिइएको थियो जसले त्यहाँको जनसंख्याको ६.५ प्रतिशत मात्र ओगट्थ्यो। सन् २०१४ मा रूसले युक्रेनबाट खोसेको क्राइमिया प्रान्तमा रहेका टार्टार जातिका अल्पसंख्यकहरूले त यो भर्तीमार्फत मस्कोले आफूहरूको जातीय सफाया गर्न लागेको आरोप समेत लगाए।
परिणाम- युद्धमा खटिन अनिच्छुक रूसी युवाहरूका लागि रातारात रूस खुला जेलमा परिणत भयो।
अनि किरिल पुटिनको शासनका त्यस्तै बन्दीहरूमध्ये एक बन्न पुगे।
एक दिन उनले थाहा पाए- उनका लागि पनि ड्राफ्ट नोटिस जारी भएको छ र भोलि त्यो घर आइपुग्नेछ।
लगत्तै घर छाडेका उनी कार्यथलोबाट घरै फर्केनन्। लगाएका लुगासित अफिसमै सुते र देशको अवस्था बुझिरहे। जर्जिया, आर्मेनिया, कजाकास्तान र किर्गिजिस्तानजस्ता छिमेकी देशमा पलायन भइरहेका आफूजस्तै लाखौं युवाहरूबारे समाचार पढिरहे।
एक दिन उनलाई लाग्यो- छिटै देशको सीमा बन्द हुन सक्छ र सधैंका लागि रूसमा बन्दी बन्न सकिन्छ।
उनी एउटा सानो झोला बोकेर रातारात कजाकास्तानसितको रूसी सिमानातिर हानिए। सीमा काट्नु पनि सहज थिएन। कति युवाहरूलाई सरकारी एजेन्टहरूले सीमाबाटै छोपेर अनिवार्य भर्तीमा पठाइरहेका थिए।
देश छाड्न खोज्ने युवाहरूका कारको दस किलोमिटर लामो लाइन छिचोलेर उनी पैदलै सीमामा पुगे। अनि दस वर्षे कैदको जोखिम मोल्दै सीमा पार गर्ने अनुमति मागे।
उनी भाग्यमानी ठहरिए र पारि पुगे। उनीसितै गएका दुई जनाले अनुमति पाएनन् र रूसतिरै छुटे।
किरिलको जीवनमा अब चौतर्फी अनिश्चय छ तर उनले युद्धबाट बच्न पाएकोमा ठूलो राहत महसुस गरेका छन्।
पोडकास्टमा प्रस्तोता सब्रिना ट्याबर्निसीले किरिललाई सोध्छिन्- रूसी सैन्य पोसाकमा युक्रेन जाने कुरा तिम्रा लागि किन भयावह छ?
यो प्रश्नको जवाफमा किरिल भन्छन्- मलाई आफ्नो मृत्यु बरू त्यति भयावह लाग्दैन तर अरूलाई मार्नु भयावह लाग्छ।
किरिलको यो जवाफ सुन्दा मेरो आङ सिरिंग भयो। कारण- कुरा यति साधारण पो छ। तर संसारभरका पुटिन समर्थकहरू युद्धको यति साधारण र मानवोचित पक्ष देख्दैनन्।
नेपालका बामपन्थीदेखि युरोप र अमेरिकाका उग्र दक्षिणपन्थीहरू भन्छन्- यो युद्ध युक्रेनमाथिको रूसी अतिक्रमण नभई नेटोविरूद्ध रूसको अस्तित्व रक्षाको न्यायोचित लडाइँ हो।
यदि कुरा त्यसै हो भने त किरिल र उनीजस्तै सैन्य सेवा छल्न चाहने दसौं लाख रूसी युवाहरू देशद्रोही र गद्दार हुनुपर्यो।
तर जीवनभरको कमाइ छाडेर रातभरमा सुकुम्बासी बनेर देश छाडेका लाखौं रूसी युवाहरूले यो युद्धलाई त्यसरी हेर्दैनन्। रूसी सरकारी टेलिभिजनको रातदिनको प्रोपागान्डा पनि उनीहरू पत्याउँदैनन्। उनीहरू साधारण जीवन बाँच्न र साधारण मृत्यु मर्न चाहन्छन्।
‘नयाँ रूस’ भनेर रूसीभाषी जनसंख्या भएका अरू देशका भूभाग बलपूर्वक रूसमा मिलाउने पुटिनको साम्राज्यवादी अभियानलाई उनीहरू त्यही रूपमा हेर्छन्। नेटोविरूद्धको अस्तित्वको संघर्ष भनेर त्यसमाथि वैधताको जलप लगाउँदैनन्।
अचम्म चाहिँ के छ भने संसारभरका सबै खाले सूचनाका माध्यमहरूमा पहुँच भएका नेपालजस्ता देशका बौद्धिकहरूले समेत अहिले क्रेमलिनका त्यस्ता उग्र राष्ट्रवादी हरफहरू आफ्नै विचारझैं दोहोर्याइरहेका छन् जसलाई रूसी युवा जनसंख्याको ठूलो हिस्साले कहिल्यै पत्याएकै छैन।
अन्तमा दुइटा कुरा।
एक, रूसलाई नेटोबाट जोगाउने नाममा युक्रेनमाथि धावा बोलेर अनगिन्ती मानवताविरूद्धका अपराधहरू गर्ने भ्लादिमिर पुटिनको तानाशाही शासनको जग अहिले हल्लिसकेको छ।
युक्रेन युद्धमा एकपछि अर्को पराजय भोग्नु परेपछि त्यस्तो सिलसिला रोक्ने अन्तिम अस्त्रका रूपमा प्रयोग गरिएको अनिवार्य सैन्य परिचालनले सिंगो रूसी समाजलाई पुटिन र उनको युद्धप्रति सशंकित, क्रुद्ध र भयभीत बनाएको छ। त्यो कदमले तत्काल युक्रेनमा रूसको पराजयको शृंखला रोक्ने अवस्था पनि देखिँदैन। समाचारहरूका अनुसार यो अभियानअन्तर्गत जति युवाहरूलाई रूसले सैन्य सेवाका लागि भेला पार्न सकेको छ, त्योभन्दा बढी रूसी युवाहरूले केही दिनको अवधिमा रूस छाडिसकेका छन्।
तत्काल त यो कदमले युद्धको लयमा कुनै फरक पार्ने सम्भावना छैन नै, दीर्घकालमा पनि दस वर्षे जेलको त्रास देखाएर मोर्चामा खटाइएका युवाहरूले रूसका लागि जीत हासिल गरिदिने अनुमान गर्न कठिन छ।
अनिवार्य सैन्य परिचालनको अलोकप्रिय सुरूआतसँगै पुटिनको सैन्य जगका अवयवहरूबीचको टक्कर पनि अब सतहमा आएको छ। उनको युद्ध संयन्त्रका तीन गुटमध्ये चेचेन युद्धसरदार रम्जान कादिरोभ र वेग्नर ग्रुप नामक मिलिसियाका प्रायोजक येभ्गेनी प्रिगोझिन अहिले रूसी सेनाको मध्य सैन्य मोर्चाका कमान्डर अलेक्जान्डर लापिनविरूद्धको वाकयुद्धमा खुलेर उत्रेका छन्।
हेर्नुहोस् कादिरोभको टेलिग्राम पोस्ट र त्यसको गुगल अनुवाद:
उनीहरूबीचको घर्षण व्यवस्थित गर्न पुटिनलाई हम्मे पर्न थालिसकेको छ। हारको पछिल्लो शृंखलापछि रूसको सरकारी टेलिभिजनमा समेत सैन्य रणनीतिको आलोचना हुन थालेको छ।
यो युद्धका ‘चियरलिडर’ हरूका अवषादग्रस्त टिप्पणीहरू टेलिग्राम सञ्जालमा छरपस्ट छन्। रूसी सरकारी टेलिभिजनका एक युद्ध संवाददाता रोमन सापोन्कोभले दक्षिण युक्रेनको खेर्सनमा विकसित भइरहेको अवस्थाबारे निराशा जनाउँदै राखेको यो पोस्ट हेरौं-
दुई, नेपालमा पुटिनको समर्थन गर्नेहरूमध्ये बामपन्थीहरूको एउटा यस्तो कित्ता छ जसलाई लोकतान्त्रिक व्यवस्थामाथि कुनै भरोसा छैन। उनीहरू सकेसम्म नेपालमा पनि जोसेफ स्टालिनजस्ता साम्यवादको बर्को ओढेका तानाशाह जन्माउन चाहन्छन्। होइन भने पुटिनजस्तै भए पनि लोकतान्त्रिक प्रक्रियाको धज्जी उडाउने बलियो शासक जन्माउन चाहन्छन्।
नेपाल र नेपालीहरूको केही बिग्रोस् या भत्कोस् भनेर उनीहरूले त्यस्तो चाहेका भने होइनन्। जीवनभरको खास किसिमको स्कुलिङका कारण उनीहरूलाई लाग्छ, देशलाई विकास र समृद्धितिर लैजाने हो भने आफ्नो ‘महान’ इच्छाअनुसार विधि र थिति मिच्न पनि पछि नपर्ने रूसका भ्लादिमिर पुटिन वा चीनका सी चिनफिङ जस्तो शासक चाहिन्छ।
नेपालको भुइँ तहसम्मै यस खाले विश्वदृष्टिको धङधङी निकै बलियो छ। त्यसैले पुटिनजस्ता तानाशाह रूसमा झैं चुनावी प्रक्रियाबाट निस्कन सक्ने कुरा नेपालका लागि पनि कल्पनाभन्दा बाहिरको कुरा होइन। त्यसैले पनि रूसमा विकसित भइरहेका घटनाक्रमबारे नेपालमा बहसहरू भइरहनु सान्दर्भिक छ।
त्यसबाहेक नेपालको सीमित जनमत पुटिनको पक्ष र विपक्षमा विभाजित भए पनि यस विषयमा नयाँ सूचना पाएर सही धारणा विकास गर्ने लालसा बोकेको जमात पनि पक्कै निकै ठूलो छ। त्यसैले यस विषयमा सही सूचना प्रवाहको अनि तथ्यमा टेकेर हुने बहसहरूको महत्व निकै धेरै छ।
यदि अझै पनि हामीलाई कुनै तानाशाह आएर हाम्रो उद्धार गरिदिन्छ भन्ने लाग्छ भने एकपल्ट हिजोसम्मका आम रूसी नागरिक किरिलको अनुभव आत्मसात गरौं- अहिले उनी विदेशी भूमिमा शरणार्थी छन्। देश फर्किने हो भने राज्यले त उनलाई सके युद्धमा मर्न पठाउँछ नत्र दस वर्ष जेल कोच्छ नै। बाबुआमाले समेत उनलाई देशद्रोही ठान्छन्।
के यसरी नागरिकलाई बर्बाद पारेर देश बलियो बन्छ र?
सेतोपाटीबाट साभार गरियको हो।