बेलामा नबोल्ने सेलिब्रिटीको नाममा

जिब्रोले पहिचान गर्ने केही मूलभूत स्वादमध्ये तीतो पनि एक हो । तीतो स्वाद त्यति रुचिकर त लाग्दैन, तर यसमा औषधीय गुण सम्मिलित हुन्छ । औषधि तीतो हुन्छ । जडीबुटी तीतो हुन्छ ।

कुरा पनि ‘तीतो’ त्यति सहजै पच्दैन । तर तीतो कुराले नै सत्यको उद्घाटन गर्छ । कुरा सुरु गरौं, तीतो-सत्यबाटै ।

थुप्रै नेपाली सेलिब्रिटी छन्, जो फेसबुक जस्ता सामाजिक सञ्जालमा हरदम सक्रिय रहन्छन् । उनीहरुलाई माया गर्ने, मन पराउने, समर्थन गर्ने असंख्य शुभेच्छुकले सामाजिक सञ्जालको ‘लाइक’, ‘फलो’ टुल्स क्लिक गरिदिएका छन् । त्यसैले उनीहरुको सामाजिक सञ्जालमा ‘फलोअर्स’ संख्या लाखौं देखिन्छन् ।

यसको सोझो अर्थ त यो हो कि यी सेलिब्रिटीलाई यति धेरैले सर्वसाधारणले विश्वास गरेका छन् । माया दर्शाएका छन् । यद्यपि हाम्रा सेलिब्रिटीहरुले सर्वसाधारणको यो स्नेह र विश्वासलाई पैसा कमाउने मेलो बनाएका छन् । उनीहरुले त्यही फलोअर्सको संख्या देखाएर विभिन्न कम्पनीको विज्ञापन हत्याउँछन् । र, व्यापारिक प्रयोजनका ती सामग्री आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छन् ।

यसबाट उनीहरुले निकै राम्रै आयआर्जन लिने गरेका छन् । सामान्यतः एउटा पोस्ट गरिदिए बापत उनीहरुले डेढ-दुई लाखसम्म लिने गरेका छन् ।

विडम्बना चाहिं के छ भने सामाजिक मुद्दाहरुमा हाम्रा सेलिब्रिटीको बोली बन्द हुन्छ । ‘मैले यस्तो भने भने यस्तो लेखे भने भोलि मेरो करियर सकिन्छ । मेरो व्यावसायिक जीवन धरापमा पर्छ’ भनेर उनीहरु बोल्न डराउँछन् ।

झट्ट हेर्दा त यो उनीहरुको निजी मामला जस्तो लाग्छ । तर सामाजिक चिनारी बनाइसकेका व्यक्तित्वका लागि यो त्यति शोभनीय खेतीपाती होइन । किनभने दर्शक, शुभेच्छुकले जसरी विश्वास र प्रेम गरेका हुन्छन्, त्यसैलाई भँजाएर ‘पैसा कमाउने’ धन्दामा लम्पट हुनु कति उचित होला ?

यससँगै अर्को पेचिलो प्रश्न गर्नुपर्ने हुन्छ । यी सेलिब्रिटीले सामाजिक उत्तरदायित्वको काममा पनि यसैगरी आफ्नो सामाजिक सञ्जालको उपयोग गर्छन् त ? जवाफ सकारात्मक छैन । लाखौं फलोअर्स देखाएर सामाजिक सञ्जालमा सशुल्क प्रचार सामग्री राख्ने सेलिब्रिटीहरु सर्वसाधारणलाई साह्रो-गाह्रो पर्दा चुइँक्क बोल्दैनन् । उनीहरु यतिबेला मौनव्रत बस्छन् ।

चाहे ती सर्वसाधारण कोरोना महाव्याधिले विचल्लीमा परेर पैदल हिंड्दै घर फर्किरहेको बेला होस् वा नाकाबन्दीले चिथोरेर के खाउँ-के लाउँको स्थितिमा पुगेको बेला होस् । यी सेलिब्रिटी बोल्दैनन् । अचाक्ली महँगीले निमुखाको ओठमुख सुकेको बेला होस् वा अस्पतालमा उपचार नपाएर नाङ्गो हात फैलाउँदै ज्यानको भिख माग्दा । यी सेलिब्रिटी बोल्दैनन् ।

खेती उब्जाउ गर्ने याममा मल नपाएर किसानहरुमा हाहाकार चल्दा होस् वा प्राकृतिक विपद्ले गरिबहरुको घरबार डुबाइदिंदा । यी सेलिब्रिटी बोल्दैनन् । राज्य व्यवस्थाको अकर्मण्यताले रैतीमाथि थिचोमिचो हुँदा होस् वा प्रशासनको लाचरीले न्याय गुमाउनु पर्दा । यी सेलिब्रिटी बोल्दैनन् ।

खासमा ‘सेलिब्रिटी’ छवि बनाइसकेका व्यक्तिसँग ‘मास र मिडिया’ दुवै हुन्छ । उनीहरुको बोली एकसाथ धेरै जनामा प्रक्षेपण हुन्छ । त्यो आवाज नहुनेहरुको आवाज बन्छ । र, त्यसले एक हदसम्म कम्पन पैदा गर्छ ।

यस्तो कम्पन, जसले राज्यको बेथितिमाथि थप्पड लगाउन सक्छ । सर्वसाधारणको पीरमर्कामा मल्हम लगाउन सक्छ । समाजमा व्यप्त कतिपय भ्रमहरु चिर्न सक्छ । परिवर्तनका लहरहरुलाई डोहोर्‍याउन सक्छन् । केही गरौं भन्नेहरुलाई होस्टेमा हैंसे गर्न सक्छन् ।

सेलिब्रिटीसँग यस्तो शक्ति हुन्छ । यद्यपि यो शक्तिलाई उनीहरुले आफ्नो हितमा मात्र प्रयोग गर्ने वा समाज र सर्वसाधारणका लागि पनि ?

सेलिब्रिटी कुनै अलौकिक प्राणी होइन, जो अर्कै दुनियाँबाट यस धरातलमा अवतरण गरेका होस् । उनीहरुको धरातल यही हो । यही समाज हो । यही सर्वसाधारण हुन् । यसर्थ आफ्नो सार्वजनिक व्यक्तित्व बनाइसकेपछि उनीहरुले आफ्नो धरातल छाड्नु हुँदैन । त्यही समाज र सर्वसाधारणसँगै घुलमिल भएर बाँच्नुपर्छ । यसले नै उनीहरुलाई सार्थक सेलिब्रिटी बनाउँछ ।

सेलिब्रिटीले समाजको ढुकढुकी सुन्नुपर्छ । समाज के चाहन्छ ? के कुराले समाजलाई अन्धकारबाट उन्मुक्ति दिएको छैन ? समाजले कसो गर्दा रचनात्मक छलाङ मार्छ ? समाज कसरी सुन्दर बन्छ ? सेलिब्रिटीले यस्ता विषयमा पनि घोत्लिनुपर्छ । अनि समाज रुपान्तरणका लागि आ-आफ्नो ठाउँबाट बोल्नुपर्छ ।

विडम्बना चाहिं के छ भने सामाजिक मुद्दाहरुमा हाम्रा सेलिब्रिटीको बोली बन्द हुन्छ । ‘मैले यस्तो भने भने यस्तो लेखे भने भोलि मेरो करियर सकिन्छ । मेरो व्यावसायिक जीवन धरापमा पर्छ’ भनेर उनीहरु बोल्न डराउँछन् ।

हाम्रो पुस्ताले कति धेरै सामाजिक, राजनीतिक उथलपुथल भोग्यौं । तर यत्तिका उथलपुथलपछि पनि हाम्रो जीवन जहाँको त्यहीं छ । किन यस्तो भयो ?

जवाफ सरल छ । किनभने हामी यी चरणहरुमा कतै लुक्यौं । चुपचाप बस्यौं । गुमनाम भयौं । हामीलाई लागेन, यसबेला मेरो उपस्थिति जरुरी छ । यसबेला मैले बोल्नुपर्छ । यसबेला मैले सक्रियता देखाउनुपर्छ ।

आफ्नो करियर पो बर्बाद होला कि भनेर हामी कतै कुनामा थन्को लाग्यौं । त्यसैले आजसम्म मुलुकले सही निकास पाउन सकेन । दुःखहरु उस्तै रहे । अभावहरु उस्तै रहे । कुरीति र बेथिति उस्तै रहे । भ्रष्टाचार र व्यभिचार उस्तै रहे । फेरिए त केवल सरकार । फेरिए त केवल हुनेखाने ।

सर्वसाधारण, सोझासाझ, श्रम गरी खानेहरुको दशा कहिल्यै फेरिएन ।

यतिबेला पनि मुलुक एउटा राजनीतिक मोडमा उभिएको छ । राज्य परिवर्तनका लागि यो एउटा टर्निङ प्वाइन्ट हो । यतिबेला एउटा लहर चलेको छ, शासन व्यवस्थाको सिन्डिकेट तोड्ने । अब बेला भएको छ, सत्ताको पुरानै धङ्धङीले लठ्ठ भएर, शक्तिको उन्मादले उम्लिएर हिंड्नेहरुलाई धावा बोल्ने ।

यतिबेला थुप्रै युवा बेग्लै उत्साह, ऊर्जा, दृष्टिकोण र कार्ययोजनासहित चुनावी मैदानमा छन् । यो युवा लहरमा हामी सेलिब्रिटीले नवीन संवाहक बनेर अगाडि आउनुपर्ने हो ।

किनभने यतिबेला हामीले पूर्ववत् लाचारी देखायौं भने मुलुक यथास्थितिमा रहने पक्का छ । त्यही दल, त्यही अनुहार, त्यही विचार, त्यही कार्यशैली, त्यही सुस्तता, त्यही, लाचारी । अनि हामी सुस्केरा हाल्दै भन्नेछौं, ‘यो देशमा केही भएन ।’

यो देशमा केही हुन हामी पनि जिम्मेवार छौं । हामी हरेक सेलिब्रिटी वास्तवमा जनप्रतिनिधि हौं । हामीले पनि सर्वसाधारणलाई सही बाटो पहिल्याउनका लागि प्रतिनिधित्व गर्न सक्छौं । तर हाम्रो चेत अझै उस्तै छ । कोही सेलिब्रिटी पार्टीको फेरो समातेर दौडिएका छन्, कोही नेताको झोला बोकेर पछि लागेका छन्, कोही केही थाहा नपाए झैं चुपचाप बसेका छन् ।

हामीलाई चाहिएको के हो ? हामीले खोजेको राज्य व्यवस्था कस्तो हो ? त्यस अनुरुप पो हामीले अग्रसरता देखाउनुपर्ने होइन र ? सामाजिक सञ्जालबाट हुन्छ वा मैदानमा उत्रिएर, हामीले नव-लहरलाई होस्टेमा हैसें गर्नुपर्ने होइन र ?

किन हामी चुपचाप छौं ?

(बाँनिया फिल्म निर्माता तथा कलाकार हुन् ।)

अन्लाईनखबरबाट साभार गरिएको हो।

About Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आफ्नो बिमारीलाई लिएर सामन्था भन्छिन्, ‘म मरिसकेकी छैन’

भारतीय अभिनेत्री सामन्था रूथ प्रभु रोगसँग लडिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत बिरामी भएको खबर सार्वजनिक गरेकी हुन्। सामन्थाका अनुसार उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको हो। यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ। गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ।  डाक्टरहरूले आफ्नो रोग पूर्ण रूपमा निको हुने बताएकी छन्। आफूलाई केही महिनाअघि नै […]

Read More

अमिताभ बच्चनले भने- म हात जोडेर भन्छु, कृपया हलमा गएर फिल्म हेरिदिनुहोस्

बलिउड अभिनेता अमिताभ बच्चन अभिनीत फिल्म ‘उचाई’ कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ। हालै अमिताभले आफ्नो शो ‘कोन बनेगा करोडपति’ मा ‘उचाई’ का अन्य कलाकार नीना गुप्ता, बोमन इरानी र अनुपम खेरलाई बोलाएका थिए। उक्त शोमा अमिताभ, नीना, बोमन र अनुपमले निकै रमाइलो गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा उल्लेख छ। यसैबीच अमिताभले दुई हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका […]

Read More

मन्नू भण्डारीको ‘एक कहानी यह भी’ : एक शक्तिशाली आत्मकथा

मन्नू भण्डारी मेरा लागि चिरपरिचित लेखिका हुन् । ३० दशकमा साहित्यमा पदार्पण गरेदेखि नै उनका रचना र पुस्तकहरु पढेको हुँ । उनको ‘आपका बन्टी’ उपन्यास पढ्दा कैयौंपल्ट आँखा भिजाएको हुँ, ‘महाभोज’ पढ्दा विकृत राजनीतिबारे आक्रोशित भएको पनि हुँ । यो उपन्यासको नाट्य रुपान्तर भएर किताबको रुपमा प्रकाशित भएको पनि देखेको हुँ । यद्यपि नाट्य रुपान्तर […]

Read More